१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलको आह्वान


११ फागुन, वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।

राष्ट्रपतिको उन्मुक्तिले ट्रम्पलाई अभियोजनबाट जोगाउँछ भन्ने अंशमा दाबी गर्दै प्रस्ताव पेस गरिएको हो । यस्तो तर्क टोलीले पहिले नै अमेरिकी सर्वोच्च अदालतमा आफ्नो चुनावी हस्तक्षेप मुद्दामा पेस गरिसकेको छ ।

वकिल क्रिस्टोफर किसे र टड ब्लान्चेले लेख्नुभएको छ, “आरोपहरू राष्ट्रपति रेकर्ड ऐन (पिआरए) अन्तर्गत रेकर्डलाई व्यक्तिगतरूपमा तोक्ने र रेकर्डलाई ह्वाइट हासउबाट मार–ए–लागोमा स्थानान्तरण गर्ने उनको कथित निर्णयमा आधारित छ ।” ट्रम्पले पदमा रहँदा उक्त निर्णय लिनुभएको भन्दै उनीहरूले लेखेका छन्, “यो आधिकारिक कार्य थियो जसरी यो राष्ट्रपतिको उन्मुक्तिको अधीनमा छ ।”

ट्रम्पले फ्लोरिडा सङ्घीय अदालतमा आफ्नो मार–ए–लागो एस्टेटमा गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू जम्मा गरेको र तिनीहरूलाई फिर्ता गर्ने सरकारी प्रयासहरूलाई अवरोध पुर्याएको आरोप लगाउँदै दर्जनौँ अपराधको सामना गर्नुपरेको छ । ती मुद्दा हाल मे २० मा सुनुवाइका लागि निर्धारण गरिएको भए पनि मिति पछाडि धकेलिन सक्छ ।

ट्रम्पका वकिलहरूले महान्यायाधिवक्ता मेरिक गारल्यान्डले पूर्वराष्ट्रपतिको अनुसन्धानका लागि गरेकाे विशेष वकिल ज्याक स्मिथको नियुक्ति ‘गैरकानूनी’ भएको भन्दै दस्तावेज मामिला खारेज गर्ने आधार प्रस्तुत गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा उनका समर्थकहरूले हिंसात्मक दङ्गापछि सन् २०२० को निर्वाचन नतिजा उल्ट्याउन काम गरेको आरोपमा सन् २०२१ मा वासिङ्टनमा अभियोग लगाइएपछि ट्रम्पविरुद्ध स्मिथको अर्को मुद्दा अगस्टमा खुलासा भएको थियो ।

उक्त मुद्दाको सुनुवाइ मार्च ४ मा वासिङ्टनको सङ्घीय अदालतमा तय गरिएको थियो तर उक्त दिनलाई ट्रम्पको अपिलका बीच रद्द गरिएको थियो । मुद्दामा पूर्वराष्ट्रपतिलाई ह्वाइट हाउसमा गरेको आधिकारिक कामका लागि अभियोजनाबाट छुटबारे कानूनीरूपमा अप्रयुक्त सवाल थियो । ट्रम्पका वकिलहरूले सर्वोच्च अदालतसँग उक्त मुद्दामा हस्तक्षेप गर्न भनेका छन् तर न्यायाधीशले हस्तक्षेप गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट छैन ।

सन् २०२३ जुनको अभियोगमा ट्रम्पमाथि दर्जनौँ अपराधको आरोप लगाइएको छ । यसमा अनुसन्धानकर्ताहरूले मार–ए–लागोमा बलरुम, शौचालय र सावर, उनको शयन कक्ष र एक भण्डार कक्षलगायतका स्थानहरूमा लापरवाहीपूर्वक सङ्गृहीत संवेदनशील दस्तावेजहरूको बाकस फेला पारेका छन् । अभियोजकहरूले ट्रम्पले राखेको दस्तावेज फिर्ता गर्न अस्वीकार गरेको र केही मामिलामा आगन्तुकहरूलाई देखाइएकाले विदेशी मुलुकहरूसँग सम्बन्धका साथै सैनिक र गोपनीय स्रोतहरूको सुरक्षामा खतरा भएको बताएका छन् । ह्वाइट हाउस पुनः प्राप्त गर्ने होडमा ट्रम्पले चार अलग–अलग सहरमा चार आपराधिक अभियोगको सामना गर्नुपरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १५:३८