१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

किन हुदै छ एडिलेडमा आमा सेमिनार


एडिलेड । एडिलेडमा आगामी फ्रेब्रुअरी २५ मा नेपाली भजन कीर्तन समुहको आयोजनामा आमा सेमिनार हुने भएको छ ।   गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा फ्रेब्रुअरी १४ बाट शुरु भएर मार्च १ सम्म आमा सेमिनार एवं मानवता प्रबर्धन कार्यक्रम अष्ट्रेलियाको विभिन्न शहरमा हुने क्रममा एडिलेडमा हुन लागेको हो ।

एडिलेडको आमा सेमिनार  साँझ ५ बजेदेखि एडिलेडको स्थानीय हल Active Elders Hall , 27A Charles St, Ascot Park SA 5043 हुने भएको छ ।

साउथ अष्ट्रेलियामा रहेका सम्पूर्ण मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार मनका धनी व्यक्तित्वहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको भजन कीर्तन समुहका अध्यक्ष खगेन्द्र सापकोटाले बताएका छन् ।

कार्यक्रममा मानवता प्रबर्धन महाअभियानका संस्थापक एवं मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उपाध्यक्ष उमा भण्डारी, कोषाध्यक्ष होमनाथ तिमल्सिना एवं पत्रकार राजेन्द्र बानियाँले सहजिकरण गर्ने भएका छन् ।

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा मानव सेवा आश्रमले गरिरहेको प्रयासको बारेमा जानकारी एवं अष्ट्रेलियामा रहनु हुने परोपकारी सहयोगी नेपाली मनहरुको यस विषयमा कस्तो भूमिका हुन सक्छ ? भन्ने विषयमा अन्तरक्रियाको साथै मातृत्व र मातृभूमिको सम्मानमा आमा सेमिनार सञ्चालन गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार सेमिनारमा नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट अनाथ भएर कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको अवस्था कस्तो छ ? उनीहरुको सडकपेटी एवं सार्वजनिकस्थलबाट उद्धार, औषधोपचार, लालनपालन एवं पारिवारिक पुर्नमिलनको सेवाका बारेमा अवगत गराउन खोजिने छ ।

हालसम्म मानव सेवा आश्रमले घरवार र परिवारविहिन भई सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन विवश १० हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, पालनपोषण, औषधोपचार र पारिवारीक पुर्नमिलन गरिसकेको छ। देशका सातै प्रदेशमा २४ सेवा केन्द्र सञ्चालन गरी मानव सेवा आश्रमले कसैले पनि नेपालको सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्न सेवा प्रवाहलाई तीव्र बनाएको छ भने हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्राकोसमेत सञ्चालन गर्दै आएको समेत बताए ।

अधिकारीले अष्ट्रेलियाका विभिन्न शहरहरुमा हुदै गरेका छलफलहरुले मानव सेवा आश्रमले विसं २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ सङ्कल्पलाई साकार पार्न एवं मानवता प्रबर्धन महाअभियानमा ठूलो टेवा पुग्ने विश्वास लिइएको बताए।

यसै गरी शनिवार एडिलेड स्थित एडिलेड नेपाली बिद्यालयमा समेत बालबालिकाहरुलाई नैतिक शिक्षा दिने उद्देश्यले `वाल बिहार ´ प्रवचन कार्यक्रम आयोजना हुने भएको छ ।

मानव सेवा आश्रमले यस अगाडि नेपाल, कतार र बेलायतमा भव्यताका साथ आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम सम्पन्न गरेर यसपटक अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।

नेपाली भजन कीर्तन समुह एडिलेडका सचिव शिव काफ्लेले कार्यक्रममा एडिलेडमा रहेका एनआरएनए लगायतका सबै संघ संस्थाहरु साथ सहयोग रहेको बताउदै कार्यक्रममा उल्लेखनीय सहभागी हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०८:४०