१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

राइनासकोटमा समयअगावै फुलेका लालिगुराँसले आकर्षित गर्दै पर्यटक


७ फागुन, लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो ।

समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताए । माघको पहिलो सातादेखि लालिगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उनको भनाइ थियो ।

“यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालिगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ”, गुरुङले भने । चैत–वैशाखमा फुल्ने लालिगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उनको भनाइ थियो । उनका अनुसार यहाँ आइपुगेका अधिकांशले लालिगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन् ।

गत शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जनविकास कलेजबाट साथीसँग पिकनिक आएका भूमिका गुरुङले पहिलो पटक आफू यहाँ आएको भन्दै यतिधेरै लालिगुराँस फुलेको देख्दा निकै रमाइलो लागेको बताए । कलेजबाट आफूसहित ६० जना यहाँ आएको उनको भनाइ थियो ।

नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताए । उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।

भूकम्पले यहाँका घरहरु भत्किएर पुनःनिर्माण भएपछि विसं २०७५ फागुनदेखि ११ घरबाट घरबास सुरुआत भएकामा यतिबेला सिङ्गो गाउँ (१७ घर) मा घरवास सञ्चालन भइरहेको गुरुङले जानकारी दिए । पछिल्लो समय पर्यटकको उल्लेख्य आगमन हुन थालेपछि यहाँका सबै घरमा घरबास सञ्चालन गरिएको उनको भनाइ थियो । यहाँका स्थानीयवासीले यही पेसाबाट आम्दानी जीविकोपार्जन गरिरहेका नगरप्रमुख गुरुङले बताए ।

यहाँ सञ्चालित घरबासबाट वार्षिक करिब रु तीन–चार लाख आम्दानी हुँदै आएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए । “घरवास सञ्चालन अघि यहाँ विकासका पूर्वाधार थिएन । गाउँबेँसी गर्न पनि समस्या थियो”, उनले भने, “खेतीपातीबाट उत्पादित अन्नले तीन/चार महिना मात्रै पुग्थ्यो । अहिले होमस्टे सञ्चालनमा आएपछि यहीँ व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् ।” होमस्टे सञ्चालन गरेसँगै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको उपाध्यक्ष गुरुङको भनाइ थियो ।

पालिकाको सहयोगमा यहाँ सञ्चालित घरबासमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको नगरप्रमुख गुरुङले जानकारी दिए । उनले कृषि र पर्यटनलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमालसहित १८ वटा हिमाल देख्न सकिन्छ । नेपाल एकीकरणको सुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय बताउँछन् । विश्वकै पहिलो योग स्तम्भ पनि राइनासकोटमा छ ।

साथै यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव, वीरभक्ति थापाको शालिकलगायत ऐतिहासिकस्थल रहेका नगरप्रमुख गुरुङले जानकारी दिए । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ । राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो ।

विसं २०७४ मा गण्डकी प्रदेश सरकारले घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो भने विसं २०७६ मा नेपालकै उत्कृष्ट होमस्टेमा परेको थियो ।

गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्राहालय रहेको छ । यहाँ गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाँटु, कृष्ण चरित्रलगायत नृत्य प्रस्तुत गरिन्छ । घरबासमा आउने पर्यटकका लागि रु एक हजार एक सय ५० मा खानाको व्यवस्था गरिएको समितिका अध्यक्ष गुरुङले बताए । उनका अनुसार घरवासमा आएका पर्यटकले खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान खाजा खान पाउँछन् ।

पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकार दिने गरिएको घरवास सञ्चालकको भनाइ थियो । पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको लोकल रक्सीको स्वाद पनि लिन पाउँछन् ।

स्थानीय जानकारका अनुसार नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका थिए । राइनासकोट ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक अध्ययनका लागि उपयुक्त ठाउँ हो । यातयातको सुविधा रहेकाले यहाँसम्म पर्यटकका सवारी साधनमा सहज रुपमा पुग्न सक्छन् । लमजुङ–तनहुँको सिमाना लमजुङ सुन्दरबजार नगरपालिका–७ पाउदी बजारबाट राइनास नगरपालिका –८ हुँदै करिब १३ किलोमिटर सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:२३