१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चन्द्र रिजाल जसले सहकारीबाट ऋण लिएर पहिलो पटक चिम्टेश्वरको प्रवर्द्धन गरेका थिए


७ फागुन, काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले राष्ट्रिय पर्यटन संगठनको अध्यक्ष हुँदा नुवाकोटको चिम्टेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सहकारीबाट ६ लाख ५० हजार ऋण लिएर आर्थिक वर्ष २०६९/७० मा चिम्टेश्वरमा पर्यटन प्रवर्द्धनका लागि एक रात दुई दिनको बृहत पदयात्रा गराएका थिए ।

काठमाडौँ नजिककै सबैभन्दा उत्कृष्ट गन्तव्य चिम्टेश्वर रहेको र पछिल्लो समय त्यसको प्रवर्द्धन र विकासका लागि सरकारले नै काम गरिरहेकोमा खुशी व्यक्त गर्दै रिजालले दैनिकीसँग भने, ‘त्यस बेलमा पदयात्रा कार्यक्रम गर्दा १५ लाख भन्दा बढी खर्च भएको थियो । हामीले दिगो पर्यटन सहकारीबाट ऋण गरेर कार्यक्रम गरेका थियौँ । संगठनको आम्दानी नभएका कारण ऋण लामो समयसम्म रहेको र केही समय अघिमात्र सोही कार्यक्रमको ऋण संगठनले सहकारीबाट मेरो नाममा पुर्याइदिएको छ।’

दश वर्षअघि चिम्टेश्वरको गन्तव्य प्रवर्द्धनका लागि नेतृत्व गरेका रिजाल ऋणको भारी बोकेरै भए पनि पछिल्लो समय चिम्टेश्वरमा भैरहेको गतिबिधिबाट खुशी देखिन्छन । फागुन ७ गते सोमबार नुवाकोटको बेलकोटगढीमा रहेको चिम्टेश्वरमा बृहत् सांस्कृतिक कार्यक्रमसहितको वनभोज र सरसफाइ कार्यक्रम हुँदैछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ ।

चिम्टेश्वरबाट तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुँका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

नुवाकोट आक्रमणको पहिलो किल्लाका रुपमा चिनिएको चिम्टेश्वर मन्दिरमा सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख रहेको छ । अर्को किवंदन्तीअनुसार महादेवले समुद्र मन्थनपछि पिएको कालकूट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ । चिम्टेश्वरमा बालाचर्तुदशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ ।

विक्रम संवत २०६९ सालको चैत्र ३० गते र २०७० सालको वैशाख १ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामाा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको पर्यटकीय महत्व प्रकाशमा आउन थालेको हो । उक्त पदयात्राका संयोजक चन्द्र रिजाललाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पर्यटन व्यवसायी संगठनको झण्डा हस्तान्तरण गरेका थिए भने पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र माधवकुमार नेपाल ककनीको केन्द्र रानीपौवा बजारबाट पदयात्रामा सँगै हिडेर चैत्र ३० गते चिम्टेश्वरडाँडामै बास बसेका थिए ।

उक्त पदयात्रामा तीन सय भन्दा बढी नेता, व्यवसायी, पत्रकार र कलाकारको टोलीले एक रात चिम्टेश्वरमा बिताएको थियो । पदयात्रामा नेपाली कांग्रेसका नेता डा शेखर कोइराल, डा मिनेन्द्र रिजाल लगायत पत्रकार र कलाकारहरू उक्त पदयात्रामा सहभागी भएका थिए ।

नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियान र शाहसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठनको निर्णय समेत गरेका थिए । यद्यपी अर्थ मन्त्रालयले समयमै सहमति नदिँदा ढकालले उक्त सपना पूरा गर्न पाएनन् । ढकालले ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘विकास समिति ऐन, २०१३’ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको घोषणा गरेरै काम गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०७:५५