१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

विदुरमै सीमित ‘नुवाकोट महोत्सव’, आयोजकको ध्यान असुलीमा मात्रै


४ फागुन, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा विदुरमा नुवाकोट महोत्सव जारी छ । महोत्सव अवलोकनका लागि गाउँगाउँबाट विदुर पुगेका सर्वसाधारण भने खल्लो महसूस गरेर फर्कन बाध्य छन् । ‘महोत्सवको रमाइलो हेर्न पाइँदैन, एक दर्शकले भने, ‘आफूसँग साधन नभएकाले मञ्चको रमाइलो हाम्रो लागि विरानो भयो ।’

आयोजकले २ बजेपछि मात्रै महोत्सवको औपचारिक कार्यक्रम सुरु गर्दै आएको छ । महोत्सव २ बजे सञ्चालन गरेपनि ३ बजेपछि मात्रै राष्ट्रिय कलाकारलाई प्रस्तुतीको लागि समय दिने गरेको छ । महोत्सवमा हुने मनोरञ्जनात्मक कार्यक्रम हेर्नको लागि महोत्सव छिरेका सर्वसाधारण भने महोत्सव सुरु नहुँदै बाहिरिनुपर्ने बाध्यता रहेको छ ।

सदरमुकामबाट गाउँ फर्कने सवारी साधन २ बजेपछि नपाइने भएका कारण ग्रामीण भेगका बासिन्दाका लागि नुवाकोट महोत्सव खल्लो भएको छ । बेलकोटगढी नगरपालिका वडा नंं ९ बाट महोत्सव अवलोकनका लागि पुगेकी सेतीमाया तामाङले बस नपाइने भएकाले २ बजे नै फर्कनुपर्ने बाध्यता सुनाइन् । ‘महोत्सवको रमाइलो हेर्न पाइँदैन, उनले भनिन्– ‘आफूसँग साधन नभएकाले मञ्चको रमाइलो हाम्रो लागि विरानो भयो ।’

महोत्सवको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले ग्रामीण भेगका बासिन्दालाई ध्यान नदिँदा जिल्लाका अधिकांश ग्रामीण भेगबाट सार्वजनिक सवारी साधन चढेर आउने अवलोकनकर्ताले महोत्सवको रौनकनै हेर्न पाउँदैनन् । १२ बजेदेखि २ बजेको समयमा थप प्रस्तुती राखेर ग्रामीण भेगका बासिन्दालाई मनोरञ्जन दिलाउने बारेमा आयोजकले नसोचेकाले एक सय रुपैयाँ टिकटले स्टलमा सजाएका सामान हेरेर फर्कन बाध्य भएका छन् ।

जिल्लाको अधिकांश क्षेत्रमा जाने सवारी साधन दिउँसो २ बजेभित्रै गइसक्ने र महोत्सवको सुरुवात नै २ बजेपछि मात्र हुने भएकाले महोत्सव आफ्नै सवारी साधन हुने र सदरमुकाम विदुर वरपरका वासिन्दालाई मात्र केन्द्रीत भएको अधिकांश अवलोकनकर्ताको बुझाई छ । आयोजकले १२ बजेदेखि २ बजेसम्म आउने दर्शकका लागि पनि महोत्सवमा मनोरञ्जन दिलाउनेतर्फ सोच्नुपर्ने आयोजकहरुको घमण्डका कारण महोत्सवमा सबैको पहुँच पुग्न नसकेको अनुमान गर्न सकिन्छ ।

आयोजकको ध्यान असुलीमा मात्रै देखिएको छ । जिल्लाका सबै पालिकालाइ महंगोमूल्यमा स्टल बेचेको आयोजकले ती पालिकाका सर्वधारणको पहुँचका सहज हुने गरी कार्यक्रम बनाउन सकेको देखिदैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ०८:४४