१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

पृथक शैलीमा आयो ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’


२९ माघ, काठमाडौं। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको साङ्गीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । पछिल्लो समयका चलचित्रहरूमा गरेको अभिनयको कारण चर्चामा बराल ‘कमेडी’ शैलीमा भिडियोमा प्रस्तुत भएका छन् । यसको भिडियोको ‘सेटअप’ पनि पृथक शैलीमा गरिएको छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै यसका लेखक हुन् । यसमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ११:०७