१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

त्रिवि पत्रकारिता विभाग बातानुकुलित कक्षासहितको आफ्नै भवनमा


२९ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सर्ने भएको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित विभाग फागुन २ गते सर्ने र सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिएका छन ।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो । विभागका प्रमुख प्राध्यापक खनालले सीमित स्रोतसाधनबीच गुणस्तरीय शिक्षा दिइँदै आएकामा विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना र पूर्वाधार विकास भएको बताए ।

त्रिवि परिसरमा निर्मित नयाँ भवन र विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल ।

विभागका प्रमुख खनालले विसं २०५७ सालमा त्रिभुवन विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विषयको स्नातकोत्तर तहको अध्ययन अध्ययापन गराउनका लागि त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्बाट निर्णय गरी विसं. २०५८ सालदेखि यस विषयको स्नातकोत्तर तहको अध्ययन अध्यापन सुरु गरेको बताए । उनले भने, ‘प्रारम्भमा विभागको आफ्नै संरचना हुने अवस्था नरहेको हुनाले त्रिविले रत्न राज्यलक्ष्मी क्याम्पसको प्रशासनिक सहयोगमा कक्षाहरू सञ्चालन गरेको थियो । विसं २०६७ सालदेखि पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधिको प्रारम्भ भएको यस विभागमा विसं २०७४ देखि दर्शनाचार्य (एमफिल) तथा विद्यावारिधि (पिएचडी)का कक्षाहरू सुरु गरी हालसम्म निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । विसं २०७३ सालदेखि त्रिविको निर्देशनअनुसार रत्न राज्यलक्ष्मी क्याम्पस परिसरभित्रै केन्द्रीय विभागले छुट्टै प्रशासनिक तथा आर्थिक संरचना बनाई अध्ययन अध्यापनको कार्य अगाडि बढाएको थियो ।’

प्रमुख खनालले क्याम्पस परिसरभित्र विभागलाई गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचनाको सधैं अभाव रहने तथा पूर्वाधार विकासका लागि पनि आवश्यक स्थानको अभाव रहिरहने देखिएको हुनाले यस केन्द्रीय विभागको पहलकदमीमा त्रिभुवन विश्वविद्यालयले वल्खु परिसरभित्र विभागको भवन निर्माण कार्य सम्पन्न गरेको उल्लेख गरेका छन । उनले भनेका छन, ‘नेपालमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो केन्द्रीय विभागको कार्यालय मिति २०८० फागुन २ गतेदेखि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस परिसरबाट बल्खुको नवनिर्मित भवनमा सर्दैछ ।’ 

भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा देवराज अर्याल ।

भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवासलगायत रहेका छन् । भवन निर्माणका लागि २१ करोड ५९ लाखको लगतमा भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । भवनको आगामी फागुन २ गते वसन्तपञ्चमीका दिन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रदर्शनी मार्गमा रहेको आरआर क्याम्पस परिसरमै विभागको केन्द्रीय कार्यालय रहेको थियो । धेरैले केन्द्रीय विभागलाई समेत आरआर क्याम्पसकै रूपमा बुझ्ने गरेका थिए । यद्यपी २०७३ सालदेखि विभाग छुट्टै प्रशासनिक तथा आर्थिक संरचना बनाई  काम गरिरहेको थियो ।

विभागको अत्याधुनिक भवन निर्माणका लागि उपप्राध्यापक डा देवराज अर्यालको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको थियो । उक्त समितिले विभागीय प्रमुख, त्रिवि र निर्माण व्यवसायीको बीचमा समन्वय गरेर भवन निर्माणको काममा सहजिकरण गरेको थियो । भवन निर्माण समितिमा विभागकै प्राध्यापक प्रवलराज पोखरेल, सहप्राध्यापक डा कुन्दन अर्याल, त्रिवि इन्जिनियरिङ विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम, पत्रकारिता विकागकै उपप्राध्यापक शशिनाथ मरासिनी र विभागकै लेखा अधिकृत कल्पना बज्राचार्य रहेका थिए ।

पत्रकारितामा स्नातकोत्तर सञ्चालनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका प्राध्यापक खनालकै अगुवाइमा विभागले अत्याधुनिक भवनमा स्थापित गरेको छ । यसले पत्रकारिताका विद्यार्थीले विगतमा प्रयोगात्मक शिक्षाका लागि भोग्दै आएका कठिनाइको समेत अन्त्य गर्नेछ । अब विभागको आफ्नै पुस्तकालय, इन्टरेट पुस्तकलाय लगायत रहनेछन । विभागमा पत्रकारिताका विद्यार्थी धेरै हुँदा कक्षामा नअटेर समस्या हुने गरेकोमा अब त्यस्तो समस्यमा समेत नहुने भएको छ । विद्यार्थीका लागि बतानुकुलित कक्षाकोठा भएका कारण उनीहरूले जाडो र वा गर्मी दुबैको असहजता समेत व्यहोर्नु पर्नेछैन ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १७:५६