१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित सतिदेवीले जित्यो ५० हजारको पुरस्कार


२२ माघ, चितवन । सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलिचित्र उपाधि प्रदान गरिएको हो । सतिदेवीले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार समेत जितेको छ । यो चलचित्र महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन बाँकी नै रहेको छ ।

त्यस्तै शिव रेग्मी सर्वोत्कृष्ट चलचलित्र निर्देशक उपाधि पनि ‘सतिदेवी’बाटै निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन । स्वर्गीय शिव रेग्मीको धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले पिताको नाममा हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रूपैयाँ नगद सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्रको उपाधि डा सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले सर्वोत्कृष्टको उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ट लघु चलचिको उपाधि प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा साहले प्राप्त गरेका छन ।

यस्तै सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन । भने यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीती चलिचित्र ‘भाग्य’ले प्राप्त गरेको छ ।

तस्बिरः फोकस इन्टरटेनमेन्ट

महोसत्सवमा  दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गरिन । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन ।

कार्यक्रमको उद्घाटनमा वरिष्ठ चलचित्रकर्मीहरू निर शाह, शिव श्रेष्ठ, प्रकाश सायमी, रविन्द्र खड्का, गायिका ऋतु कडेँल, गायक हिमाल सागर लगायत उपस्थित रहेका थिए । महोत्सवको सञ्चालन चर्चित प्रस्तोता शान्ति पाख्रिनले गरेकी थिइन । महोत्सवमा प्रकाश, सतिदेवी, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया र हिन्दी भाषाको चलचित्र घटना, लगायत प्रदर्शन गरिएको थियो ।

सो अवसरमा क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले हरेक वर्ष सौराहामा महोत्सव गर्ने प्रतिवद्धता जनाए । उनले सरकारले दुइ बिगाह जग्गा उपलब्ध गराइदिए चलचित्र संग्राहलय, बृद्ध चलचित्रकर्मीका  लागि आश्रम र इन्डोर सुटिङका लागि अत्याधुनिक स्टुडियो निर्माण गर्ने घोषणा गरे । सो अवसरमा मन्तव्य राख्दै प्रदेशसभा सदस्य गुरूङले आफूले कानुनी रूपमा गर्नुपर्ने सहयोगका लागि सदनमा समेत आवाज उठाउने र स्थानीय सरकारसँग पनि समन्वय गर्ने प्रतवद्धता जनाइन ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:२३