१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

जुगलको प्राकृतिक स्रोतको दोहन र जनप्रतिनिधिको माैनता


-अनुप सिलवाल

संघीय राजधानी काठमाण्डौबाट मात्रै ८५ किलोमिटरको दुरी अवस्थित छ, जुगल । जुगल गाँउपालिकालाई सिन्धुपाल्चोकको कर्णालीको उपमा समेत दिइन्छ । ५९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटको यस पालिकामा ७० प्रतिशत भन्दा धेरै जनता परम्परागत कृषि पेशामा निर्भर छन् । भौगोलिक रुपमा डाडाँकाडाँ र हिमाली भेग बढी भएको हुँदा, यँहा खेतियोग्य जमिन कम छ, त्यसो हुँदा उत्पादन समेत कम हुने गर्दछ ।

यस पालिकामा उत्पादन हुने प्रमुख बाली भनेको फापर, कोदो, धान, मकै, गँहु, आलु आदि हुन् । तर, निर्यात चाँही आलु मात्र हुने गर्दछ । यँहाका जनताले ६० प्रतिशत खाद्यान्न आयात गर्दछन् । यस पालिका प्राकृतिक सम्पदाले भरिपूर्ण त छ । तर, प्रकृति सम्पदाको सहि तरिकाले उपयोग, प्रयोग र उत्खनन गरी महत्वपूर्ण चिज निर्यात गर्न सके यस भेगमा विकासको निम्ती ठुलो टेवा पुग्दथ्यो ।

पालिका र जनताको अवस्था परिवर्तन गर्न स्थानीय सरकार, प्रदेश र संघका जनप्रतिनीधिहरुले यि र यस्तै क्षेत्रहरुको पहिचान गरी, प्रचलित कानून अनुसार नियमन गरि संचालन गर्न सकेमा एक दुइ बर्षमा नै जुगलको मुहार फेरिन सक्ने अधिक सम्भावना छ/देखिन्छ ।

ती क्षेत्रहरू यस प्रकार छन्ः

१. जलश्रोतः जलश्रोतको हिसावले सिन्धुपाल्चोक कै धनी भनेर चिनिने यस पालिकामा सानाठुला गरी २५ वटा भन्दा बढी जलविद्युत आयोजनाहरू छन् । ती मध्य ५ वटा जलविद्युत आयोजनामा विद्युत उत्पादन भैसकेको, १० वटा जलविद्युत आयोजना संचालन हुदै गरेको, १० वटा जलविद्युत आयोजना संचालनमा आउन बाँकी रहेको छ ।

यति धेरै आयोजनाहरु निर्माण हुदैछन् । तर ति आयोजनाहरुले, सो आयोजना निर्माण गर्दै गर्दा स्थानीयलाई पर्ने विभिन्न समस्या, विकास निर्माणमा सहयोग, विभिन्न सामाजिक कार्य, नियमित सार्वजनिक सुनुवाई आदि गर्नुपर्ने थियो । आजको दिनसम्म यस्ता केहि कार्यहरु गरेका छैनन् । गरेका छन् त केबल केहि निश्चित नेताहरुको चाकरी । ती नेताहरुको हरेक इच्छा पूर्ति गरेर जनताको समस्याहरुलाई नजरअन्दाज गरिरहेका छन् । तिनिहरुले यस्ता हर्कत गरिरहँदा, ति नेताहरु मौन देखिनु चै बिडम्बना नै छ । निर्वाचन ताका चर्का भाषण दिने तर अन्य समयमा जनताको समस्यामा मौन रहने नेता कसरि जनताको नेता अनि जनप्रतिनिधि हुन सक्छन् र ? तिनिहरुलाई उक्त आयोजनाको खास कर्मचारी किन नभन्ने त?

२.पत्रेढुंगाः अहिले पत्रेढुंगा धेरै नै उपयोगीे छ भनेर विभिन्न अनुसन्धानमा देखिएको छ । विदेशी मार्वललाई समेत पछि पार्न सक्ने ढुंगा यस गाँउपालिकामा प्रशस्त मात्रमा पाईन्छ । खानी विभागको एक प्रतिवेदन अनुसार “नेपालमा मात्र ५०० भन्दा बढी पत्रेढुंगा खानिहरु रहेको” छ । ढुंगा निर्जिब बस्तु भएको हुदा जति नै वर्ष राखेपनि बढ्नुको सट्टा घटेर जाने हँुदा, यसलाई खानी तथा भुगर्वको ऐन नियम अनुसार उचित ढंगले प्रयोगमा ल्याउन सकियो भने, यस क्षेत्रका धेरै जनताले रोजगारी पाउनुको साथै जुगल विकासको निम्ती ठुलो टेवा पुग्ने देखिन्छ । तर त्यस काममा स्थानीय, प्रदेश तथा संघीय जनप्रतिनिधिहरुको ध्यान पुगेको छैन् ।

३. बहुमुल्य जडीबुटी तथा काठहरूः जुगल गाँउपालिका हिमाली भेगमा भएको हुनाले, यहाँ १०० भन्दा बढी प्रजातीको जढीबुटीहरू पाइने गर्दछन् । जस्तै यार्सागुम्बा, पाँचऔले, सँदुवा, चिराइतो, चरचरे, सुनपाती, पदमचाल आदी हुन् । यी सम्पूर्ण जडिबुटीहरुलाई स्थानीय सरकारले उचित नियम बनाई निर्यात गर्न सके पालिकाले ठुलो धनराशी आर्जन गर्न सक्छ ।

त्यसैगरी, यस पालिकामा प्रशस्त वन क्षेत्र रहेको हुदा यँहाका बहुमुल्य काठहरू पनि पाइन्छ । जस्तै चाँप, धुपी, सल्ला, दालचिनी आदि । लेकाली क्षेत्रमा लाखौ बहुमुल्य रुखहरू ढलेर बसेका छन् त केही भुभाग नांगो अबस्थामा । ती ढलेका रुखहरुलाई सदुपयोग गरी खाली भू–भागमा वृक्षरोपण गर्न सके भुक्षय रोक्न तथा जुगल विकासमा सहजता हुने थियो ।

४. पर्यटकिय स्थलः यस गाँउपालिकामा यातायातको समस्या भएको हुदा, यहाँका पर्यटकीय स्थलहरु सुनसान अबस्थामा छन् । संघीय राजधानी काठमाण्डौबाट लगभग ३/४ घन्टाको यात्रामा पुगिने भएतापनि अब्यवस्थित यातायातको कारण ७/८ घन्टा भन्दा बढि समय लाग्दछ ।

यहाँका प्रसिद्ध ठाँउ जुगल हिमाल (६०९५) विभिन्न समस्याका कारण आरोहण गर्नेको संख्या अत्यन्तै न्यून छ । नेपेमासाल, भैरवकुण्ड, निम्लुङ्ग, भिमसेन, बासखर्क लामिडाँडा, दुधपोखरी, बहुलापोखरी, दोमन पोखरी, डल्ले पोखरी, बुद्दपार्क आदि स्थानहरु सुनसान अबस्थामा छन् । यसका मुख्य कारण भनेको अब्यवस्थित यातायात नै हो सरोकारवाला तथा जनप्रतिनिधीहरुले यस विषयलाई ध्यानमा राखि समस्याहरुको समाधान गर्न सके छोटो समयमा नै पर्यटकीय स्थानको पहिचान गरि विकास हुने कुरामा कुनै दुइमत छैन् ।

यस पालिका पर्यटकीय सम्भावना बोकेको भर्जिन ठाँउ भएको हुँदा, यस क्षेत्रको ब्यापक प्रचार प्रसार गरेमा पर्यटकहरु धेरै भित्रिने सम्भावना छ, किनभने यो ठाँउ राजधानीबाट नजिकै छ । पर्यटकहरु धेरै आए भने यहाँको अवस्था र जनाताका अवस्था परिवर्तन हुन कुनै कठिनाई नै छैन् ।

जुगलको विकास नहुनुका केहि कारणहरु छन्, ति निम्नानुसार छन्ः

१.स्थानीय विभिन्न पार्टिका नेताहरु, जनप्रतिनिधिहरुले समेत यहाँको जलविद्युत आयोजना लगानी रहेको कुरा ओपन सेक्रेट जस्तै छ । जलविद्युत आयोजनामा लगानी गर्ने तर जनताको समस्यामा र यस भेगको विकासमा एकरति ध्यान नदिने ।

२. जिल्ला तथा स्थानीय नेताहरुले आर्थिक उपार्जनको गतिलो स्रोत बनाएका छन् । अर्थात दुहुनो गाईको जस्तै बनाएका छन् । लगानीकर्ताहरु संग विभिन्न नाममा पैसा लिएपछि स्थानीय जनताको समस्या बारे जानकार हुँदाहुदै समेत मौन बसिदिने गरेका छन् । जसले गर्दा जनताहरु दिनानुदिन प्रताडित हुन परेको छ ।

३. त्यति मात्र हो र, स्थानीय जनप्रतिनिधिहरु आफ्नो विभिन्न सामग्रीलाई चर्को भाडामा लगाएर आर्थिक उपार्जन गरिरहेका छन् । (एक्जाभेटर, टिपर, ट्रक, बोलेरो आदि)

४. कमिसनको चक्करमा सामाजिक सुरक्षा र जनताको हितको लागि केहि काम नै गरेका छैनन् । गरेका छ त केबल आफु, परिवारको र आफन्तको सेटल ।

५. आयोजनाको कारण यस क्षेत्रमा प्राकृतिक प्रकोपले उग्र रुप लिएको छ । जलविद्युत आयोजनाले बाटो बनाउने बहानामा विभिन्न ठाँउमा बिना भ्क्ष्ब् डोजर चलाउदा हरेक वर्ष, वर्षायाममा पहिरो जाने, बाढी आउने भूक्षय हुने समस्याको कारणले गर्दा यहाँको जनजीवन अस्तव्यस्त हुने गरेको छ । जस्तोः लिदि पहिरोले गर्दा सो गाँउ नै विस्थापित हुन पुगेको छ । उता नाम्फा, सुकुली, बोल्दे, गुम्बा, क्याङसिङ्ग र तेम्बाथानका वासिन्दा समेत वर्षा लागेपछि त्राहिमाम भएर रातभर जाग्राम बस्न बिवस हुन्छन् ।

६. आयोजनाले स्थानीय बासिन्दालाई अति नै दुःख दिने गरेको छ । विना सुचना हाइभोल्टेज लाईन छोड्दा मानविय क्षति समेत हुन गएको थियो । गत वर्ष सीता हाइड्राेपावरल विद्युत परिक्षण गर्दा, बिना सूचना लाइन छोड्दा, क्याङसिङ्गमा बारीमा काम गरीरहेकी १४ वर्षिय बालिकाको अकालमा ज्यान गएको थियो । उक्त घटना पश्चात, न्याय माग्न जाने गाँउलेहरु माथि सीता हाइड्रोपावरले, माथिका केहि नेताको आडमा सोझा गाँउलेहरुलाई झुठा मुद्धा लगाएर आयोजनाको गलत कार्य विरुद्ध बोल्नेहरुको लागि समेत बोल्न बन्द गराउने अवस्था सिर्जना गरेको छ । उक्त घटना घट्दा स्थानीय पालिका प्रमुख, प्रदेश तथा संघका संसद मौन बस्नु रहस्यमय नै छ । आजको दिनसम्म पनि हिमाल पाख्रिन, पासलाल तामाङ लगायत २२ जना बढि जनता झुटो मुद्दा खेपिरहेका छन् ।

(सिलवाल निर्माण व्यवसायमा आवद्ध छन्)

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ०९:३७