१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

फिल्म ‘नमेटिने घाउ’ निर्माण हुने, प्रधानमन्त्रीको ‘रोल’ केपी ओलीलाई


१४ माघ, काठमाडौं । फिल्म ‘नमेटिने घाउ’ निर्माण हुने भएकाे छ । आइतबार काठमाडाैंकाे नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलमा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’काे रोल निर्वाह गर्ने बताइएको छ ।

एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा फिल्म बन्न लागेको हो । उक्त फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकाे अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको भागमा भने रचना गौतमले मुस्कानकाे भुमिका निर्वाह गर्छिन् । याे गाैतमकाे डेब्यु फिल्म हाे । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

२०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । याे फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताएकाे छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १७:३५