१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चार वर्षपछि सौराहामा हात्ती महोत्सव हुँदै


२३  मंसिर, चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागेको बताउनुभयो । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उहाँले बताउनुभयो ।

पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उहाँको भनाइ छ । यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताउनुभयो । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ ।

हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उहाँले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ ।

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उहाँले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताउनुभयो ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १५:४४