१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

प्रचण्ड, देउवा र ओलीलाई पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीका १२ प्रश्न


-डा प्रकाशचन्द्र लोहनी 

हाल ठूला दलका ठूला नेताहरूले अन्य दलहरुले उठायका प्रश्नहरूबारे केहिदिनमै जवाफ दिने खवर पढियो । यस सन्दर्भमा निम्न प्रश्नहरूको जवाफ दिन म सबै ठूला नेताहरुलाई अनुरोध गर्दछ।

१) नेपाललाई एसियाको सबैभन्दा गरिब राष्ट्र वनाउन तपाईंहररूको योगदानको कसरी मूल्यांकन गर्ने ?

२) नेपालमा भ्रष्टाचार र लुटको राजनैतिक संस्कृतिको संस्थाकरण गर्न तपाईंहरूले पुर्याउनुभएको “महान” य‍ोगदानको कसरी मूल्यांकन गर्ने ?

३) देशका अधिकांश युवाहरूलाई बाध्यात्मकस्थिति श्रृजना गरेर विदेश पठाइ नेपालीहरू भनेको अरूको लागि रगत/पसिना बगाउने मात्र हुन भन्ने मान्यतालाई संस्थाकरण गर्ने तपाईं तीन ठूला दलहरुको सामान्ति नीतिलाई कसरी व्याख्या गर्ने ?

४) नेपालमा सरकारी पद लिलाममा गरेर देश र जनता लुटने तपाईंहरुको अघोषित “अग्रगामी”संस्कारबाट अब हामी कति पीडित हुने ?

५) जहानिया शासनमा जस्तो तपाईंहरुले पालेका भुरे-टाकुरे सामान्तहरूको स्वार्थको लागि शासनका महत्त्वपूर्ण पदहरू भागवन्डा गरेर प्रतिगमनको अखडा बनाउने तपाईंहरू जस्ता व्यवहारमा प्रतिगमनकारीविरुद्ध अब किन विद्रोह नगर्ने ?

६) गरिब किसानका नाममा तपाईहरूका दलका लाउकेहरुले ७० प्रतिसत भन्दा बढी अनुदान लुटेका/ हातपारेका छन । तै पनि हामी किसानको पक्षमा छम भन्न तपाईंहरुलाई लाज लाग्न पर्ने होइन र ?

७) खुलेआम ज्यानमाराहरूलाई छोडने तपाईंहरुको मिलिमतो नै प्रजातन्त्र र कानुनी राज्य हो ? देशमा कानुन छ तर कानुनी व्यवस्था छैन । यसका लागि तपाईंहरुलाईं अपराधी किन नभन्ने ?

८) नेपालीहरूलाई विकासको सपना बाँड्ने तर यहाँ भएका उद्योगहरू विनास गर्दै देशको बैंकहरुमा रहेको ठूलो धनराशि सीमित व्यापारीहरुको कब्जामा राखेर साना उद्योगी,किसानहरुको शोषण गर्ने तपाईंहरुको नीति जनतामारा र सर्वहाराबिरुद्धको चरम शोषणको औचित्य के हो ? जवाफ छ ?

९) नेपाललाई उत्पादन र निर्यातमुखि वनाउनुको सट्टा उपभोग र आयातमुखि वनाउने,आफ्ना आसेपासे र परिवारलाई धनाड्य बनाउने तपाईंहरुको आर्थिक मोडलको के कुनै दर्शन छ ? कुनै सिद्धान्त छ ? विचार छ ?

१०) देशको राष्ट्रियता भ्रष्टहरुको जमातले सुरक्षित गर्न सक्दैन । जनताको मनोबल र विश्वास लुटाहा संस्कृतिलाई आफ्नो आदर्श सिद्धान्त सम्झने लुटाहा जमातले उठाउन सक्दैन । अनुशासनहिनता आर्थिक अराजकता, कानुनी अराजकता तथा देशका युवाहरूलाई देश बाहिर जान बाध्य पार्ने हत्कडीमा देशलाई बाँधेर कति समय राख्ने ? हामी जवाफ सुन्न चाहान्छौ ।

११) तपाईहरूको दलिय शोषणको हत्कडी र दासहरूको कुकृत्यबाट देश बचाउन अब आवाज उठाउनु राष्ट्रियता र राष्ट्रिवाद होइन र ? बास्तवमा अपराधिक मनस्थितिलाई राजनीति सम्झने संस्कारमा देशप्रतिको इमान्दारी हराउन थालेको छ । यसकोविरुद्ध संघर्षको विकल्प छैन भन्ने आवाज उठाउनु के गलत हो र ?

१२) हामीलाई अब मिसन ८४ को सपना बेकार छ । वर्तमान अर्थात ०८०/०८१ मा कसरी वाच्ने र विदेशीसामू दास संस्कृति बोकेका तपाईंहरू जस्ता ठालुहरूबाट देश कसरी बचाउने भन्ने प्रश्न मुख्य भएक‍ो छ । देश लुटिराख्ने सपनाको लागि तपाईहरूलाई मिसन ८४ आवश्यक लागेको होला तर आमजनतालाई ०८०/०८१ महत्त्वपूर्ण भएको छ । हिजोको नारा र भोलिको सपनाको जाल सबै बेकार छन । आजको यथार्थको उपेक्षा गरे पनि जनता चुप लाग्छन र आफ्नो भ्रष्टाचार र शोषणको रजाई कायम रहन्छ भन्ने तपाईंहरूको कल्पना टेवलबाट खसेको काचको गिलास जस्तो चकनाचुर हुनबाट कसैले रोक्न सक्ने छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १७:४३