२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छः अर्थमन्त्री डा महत

२१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् ।  ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए । अर्थमन्त्री डा महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे।

साथै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताए । अर्काे प्रश्नको जवाफ दिँदै उनले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पारे । उनले ट्रेड युनियन गठन भएकै कारण राजस्व कम उठेको भन्न नहुने धारणा व्यक्त गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न काम भइरहेको जानकारी गराए ।

साथै उहाँले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार ट्रेड युनियन गठन भएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १७:२७