१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शैक्षिक प्रमाणपत्र कीर्ते गरेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ, ठगीमा पनि कारबाही हुने


-पवित्रा मुडभरी

२५ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई उनको निवास गोल्फुटारबाटै पक्राउ गरेको हो । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्माले कक्षा १२ को शैक्षिक प्रमाणपत्रमा आफैँले नम्बर थपेर किर्ते गरेको आरोप प्रहरीले लगाएको छ । उनी माथि अन्य चार आरोप समेत रहेको प्रहरी स्रोतले बताएको छ ।

कांग्रेस भित्र डा शेखर कोइराला निकट मानिने शर्माले एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशरण महतको राजिनामा मागेका थिए । संसदभित्र र बाहिर पनि चर्को रूपमा दुबै मन्त्रालय र मन्त्रीको सेटिङ बिना तस्करीको सुन पास हुन नसक्ने अभिव्यक्ति दिइरहेका शर्मा पक्राउ परेपछि नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको लाइन भन्दा बाहिर गएर बोल्ने नेताहरू त्रसिल बन्न पुगेका छन । यद्यपी शर्मालाई शैक्षिक प्रमाणपत्रमा कीर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

डा शर्माको बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रहरी स्रोतले जनाएको छ । सिआईबीले यसअघि २०७३ सालमा २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गर्दा पनि डा। शर्मालाई पक्राउ गर्न खोजेको थियो तर उनी त्यो समय जापान भागेर जोगिएका थिए ।

डा शर्माको विगत कर छलीसँग पनि जोडिएको छ। उनको नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको, भौतिक संरचना निर्माण गर्न लिएको ब्यांक ऋण अन्यत्रै लगानी गरेको, कलेजको नाममा किनेको जग्गाको मूल्य कम देखाएको, कलेजमा लगानी गरेको रकम यथार्थपरक नभएको, राजस्व चुहावट गर्ने उद्देश्यले समयसीमा नघाएर कर बुझाउने गरेको राजस्व अनुसन्धान विभागले २०७२ मा गरेको अनुसन्धानमा देखिएको थियो।

डा शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरिरहेको प्रमाण सीआईबीले नेपाल मेडिकल काउन्सिल मार्फत संकलन गरेको थियो । शर्माले पाँच प्रतिशत शेयर स्वामित्व लिएर नोबेल मेडिकल कलेज अहिले एकलौटी बनाएका छन । उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनः अनन्तसँग पनि निकट रहेका थिए । त्यो समय वाईसीएल प्रयोग गरी अन्य सञ्चालक अपहरण गरी जाझेल गरेर नोबेलको स्वामित्वमा कब्जा जामाएका थिए ।

तत्कालीन अवस्थामा डा ज्ञानेन्द्र गिरी लगायतको समूहले शर्मालाई नोबलेमा छिराएको थियो । अहिले उनी धेरै मेडिकल कलेज चलाउने र चिकित्सा शिक्षामा नीतिगत हस्तक्षेप समेत गर्न सक्ने भएकाले मेडिकल माफियाको उपनामले समेत चिनिन्छन । उनले ७० करोड रुपैयाँमा ४७ प्रतिशत शेयर किनेर काठमाडौं मेडिकल कलेज समेत आफ्नो बनाएका छन । त्यस लगत्तै उनले ९० करोड रुपैयाँमामा पालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत शेयर समेत किनेका थिए ।

शर्माको विरूद्धमा सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधिन रहेको छ । अहिलेसम्म विभागले उनको सम्पत्तिको अनुसन्धान गरेर सकेको छैन । करिब पाँच वर्षदेखि शर्माको सम्मत्तिको बारेमा विभागले खोजी गरिरहेको छ । यस्तै मेडिकल अध्ययन गर्ने विद्यार्थीसँग तोकिएकोभन्दा बढी शुल्क असुली गरेको अभियोगमा पनि सुनिल शर्माबिरुद्ध ठगी मुद्दा चलाउने तयारी यसअघि प्रहरीले गरेको भए पनि नेपाली कांग्रेसको दबाबका कारण रोकिएको थियो । त्यस समयमा उनी अमेरिका भागेका थिए ।

शर्माले नोबेल र केएमसी कलेजमा अध्ययन गर्ने एमबीबीए, बीडीएस/बीएनसका बिद्यार्थीहरुबाट चिकित्सा शिक्षा आयोगले तोेकेको मापदण्डबिपरीत अतिरिक्त शुल्कबापत ५ लाख रुपैयाँ बढी लिंदैआएको छ भने ऐच्छिक हुनुपर्ने छात्रबास(होस्टल) चर्को शुल्क लिएर भर्ना हुन दबाब दिएपछि गएको मंसिरमा विद्यार्थी आन्दोलित नै बनेका थिए । आन्दोलन भाँड्न गुण्डा परिचालन गर्नेदेखि सत्तापक्षका नेताहरुलाई घुसको बिटो नै प्रस्ताव गरेका खबरहरू त्यतिखेर बाहिरिएका थिए । प्रहरीले शर्मा पक्राउ परेको बारेमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी दिएको छ । ब्यूरोका प्रमुख किरण बज्राचार्यले पत्र मार्फत संसद सचिवालयलाई जानकारी दिएकी हुन ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १७:२२