१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

शैक्षिक र आर्थिक पीडाले विदेशिदै विद्यार्थीहरू


-बलिराम गुप्ता

“अहिले देशका युवाहरु व्यापक रुपमा बिदेशिने क्रम जारी छ ।” यो वाक्य भन्दा वा सुन्दा सामान्य जस्तो लाग्दछ । तर यो वाक्यमा दुख ,बिछोड र बेदनाले भरिएको छ भन्दा अतियोक्ति नहोला । के बैदेशिक यात्रामा दुख मात्रै हुन्छ र? यहाँ विभिन्न किसिमका प्रश्नहरु उब्जिन्छन् । ४५डिग्री देखि ५० डिग्री सम्म घामको तातो कसलाई चाहना हुन्छ र ? एक अध्ययनले के देखाउदँछ कि झन्डै ८० लाख देखि ९० लाख मानिसहरु बिदेश तिर छन । यसरी हेर्दा झन्डै तिन करोड जनसँख्यामा एक करोड विदेश तिर छन। ती एक करोड भनेका युवा जनशक्तिहरु हुन जो देशको संबाहक शक्ति हुन । यसरी आज देश युवा बिहिन हुने अवस्थामा पुगेको छ । फेरि प्रश्न उठ्छ रेमिट्यान्स आएको छ नि ? तर रेमिट्यान्सले मात्रै देश समृद्ध हुन सक्दैन् । युवाहरु भनेका विकासको सँवाहक शक्तिहरु हुन् । यदि ती युवाहरु भए भने देशमा कायापलट हुन सक्छ ।

विभिन्न विकाशवादी चिन्तकहरु के भन्दछन् भने विदेशिएका झन्डै एक करोड युवाहरुलाई देशमै विभिन्न क्रियाकलापमा लगाईयो भने देशले काँचुली अवश्य फेर्छ । तर आज देशमा कहाली लाग्दो अवस्था छ । रोजगारी तथा अध्ययनको नाममा आज लाखौ युवाहरु घरपरिवार बाट टाढिन बाध्य छन् । दुखद कुरा यो छ कि युवाहरु अष्ट्रेलिया, जापान ,अमेरिका भनेपछि हुरुक्कै हुन्छन् । यतिसम्म कि विद्यालयमा विद्यार्थीहरु सँग सोध्दाँ तिमी भविष्यमा के बन्न चाहन्छौ ? धेरैजसो विद्यार्थीहरुको जवाफ हुन्छ “विदेशमा काम गर्न जाने” । सुन्दर देश नेपाल युवा विहिन बन्दैछ । यो हाम्रो देशको लागि चिन्ताको विषय हो ।

शैक्षिक अध्ययनः सन् २०२२ मा मात्रै अध्ययनको लागि ९५,२६८ बिद्यार्थीहरु विदेश गएका छन् । गत वर्षहरुको तुलनामा यो सँख्या दोब्बर हो । यसरी हेर्दा बिद्यार्थीहरु अध्ययनको शिलशिलामा बिदेश जादाँ कमै मात्रा मा मात्रै नेपाल फर्कन्छिन भन्ने विभिन्न तथ्याँकहरुले देखाउँदछन् । आज अध्ययनको नाममा हजारौ विद्यार्थीहरु विदेश जान  बिमानस्थलमा  लामबद्ध भेटिन्छन । अध्ययनको  नाममा प्रत्येक महिना अरबौ रुपैयाँ विदेशतिर गईरहेको छ । फेरि प्रश्न उठ्छ के नेपालको शिक्षा गुणस्तरीय छैन, के नेपालको शिक्षामा आमुल परिवर्तन चाहिएको छ? एक वाक्यमा उतर दिदाँ “अवश्य” ।

नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले लथालिङ अवस्थामा छ । त्रिभुवन विश्वविद्यालयमा चरम राजनिति छ । एक बर्षमा हुनु पर्ने परीक्षा दुई बर्ष सम्म लाग्ने गरेका छन् । प्राध्यापकहरुको सँख्या पनि विद्यार्थीहरुको अनुपातमा कम नै रहेको छ । अहिलेको प्रतिस्प्रर्धात्मक बजारमा गुणस्तरीय शिक्षाको कारणले पनि विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जान बाध्य छन् । नेपालमा पढ्दाँ तुलनात्मक रुपमा समय बढी लाग्ने गरेको छ । अहिले धेरै विश्वविद्यालयहरु खोल्नु भन्दा भएको विश्वविद्यालयको शैक्षिक सुधार , समयानुकुल शैक्षिक विषयवस्तु र शैक्षिक स्थानहरुमा राजनितिक क्रियाकलाप बाट टाढा राख्नु जरुरी देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक गतिविधि ठिक राख्नको लागि प्रधानमन्त्री कुलपति हुने व्यवस्थाको अन्तय हुनु आवश्यक छ । उपकुलपति जस्तो सम्मानित पद धारण गरेको व्यक्ति विश्वविद्यालयको पद्धति र देशको उच्च शिक्षाको नितिले गर्दा निरिह बन्नुपर्ने र चाकडी गर्नुपर्ने अवस्था छ । आखिर यो परम्पराको अन्तय कहिले हुने भनी सर्वसाधारण तथा सम्बन्धित व्यक्तिहरुले राज्यसँग प्रश्न तेर्साउन बाध्य छन् । अहिले त्रिभुवन विश्वविद्यालयको लागि चाहिने दरबन्दिको सिर्जना गर्नु पनि आवश्यक छ । साथसाथै देशव्यापी रुपमा शिक्षाको विविधिकरण गर्नु आवश्यक छ ।

नेपालमा पनि विश्वमा बदलिदो परिवेश अनुसार शिक्षा ,प्रविधि र आर्थिक क्रियाकलापमा जोड दिनु आवश्यक छ । सुन्निछ, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको भवनमा र प्रशासनिक भवनमा विद्यार्थीहरुका भातृ सँघ सँगठनहरुले ताल्चा हानेको । साथसाथै त्रिभुवन विश्वविद्यालयमा आफनो पार्टीको झोले बनाउन विभिन्न कार्यक्रम गरेको र आफ्नो अनुसार नचले विभिन्न दुरव््यवहार गर्ने गरेको । के यसरी उच्च शिक्षा दिने स्थानमा यस्ता क्रियाकलाप भयो भने विद्यार्थीहरु देशमै अध्ययन गर्छन ? हो विद्यार्थीहरुलाई रोक्नको लागि सम्बन्धित राजनितिक दलहरुले आफ्नो राजनितिक सँस्कार बदल्न जरुरी छ । विभिन्न क्याम्पस तथा शैक्षिक स्थानहरुमा राजनितिक दलहरुले आफ्नो क्याडर बनाउदाँ र अवानच्छित गतिविधि गर्दा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको देखिन्छ भनी शैक्षिक अगुवाहरुले भन्दछन् ।

आर्थिक रुपान्तरण र रोजगारी सिर्जना 

नेपाल आर्थिक रुपले विश्वको तुलनामा धेरै नै पछाडि रहेको भनी सुन्दा म जस्ता युवाहरु २५/३० वर्ष पार गरिसके । आखिर किन समृद्ध राष्ट्रहरु झन समृद्ध बन्ने तर नेपाल गरिबको गरिब नै हुनुपर्ने । मुख्यत ः नेपालको राजनितिक सँस्कार , आर्थिक निति लगायतका कुराहरुमा त्रुटि छ कि ? के हामी बिदेशमा लेबर मात्रै पठाइरहने ? अहिले देशको शैक्षिक नितिहरुमा व्यापक सुधारको आवश्यकता देखिन्छ । सरकारले बैदेशिक रोजगारीको लागि लेबरहरु लाई निरुत्साहित गर्दै त्यस्ता व्यक्तिहरुले गर्न सक्ने सिप सिकेर जाँने वातावरण अझ राम्रो तवरले तयार गर्नुपर्दछ ।

त्यसरी बिदेश जाँदा बढी आम्दानी हुने र देशको गरिमा बढ्ने हुन्छ । अहिले देशमा राजनीतिकर्मीहरुले व्यवसायीमाथि विभिन्न प्रोप्रोगान्डा चलाउने गरेको पाइन्छ चाहे ती डा सुनिल शर्मा लाई होस वा दुर्गा प्रसाई । उनले समाजका राष्ट्रका लागि काम गर्न खोजिरहेका छन तर उनीहरू नै दललहरूको प्रोपोगाण्डाको शिकार भैरहेका छन । देशमै केही गर्छु भन्ने दुर्गा प्रसाई र सुनिल शर्माको बिरूद्धमा प्रोपोगाण्डा चलाएर देश समृद्ध कसरी हुन्छ ? अहिले देशमा हेर्दा कुनै व्यवसाय सन्चालन गर्नको लागि धेरै प्रकारको कठिनाई र विभिन्न ठाउमाँ जानुपर्ने बाध्यता छ । के यसरी देशमा व्यवसायीहरु टिक्न सक्छन्,पक्कै पनि सम्बन्धित सरोकारवालाहरुले ध्यान दिने कि ?

के यसरी देशमा बिल गेट्श, मुकेश अम्बानी, पराग अग्रवाल वा इलोन मस्क जन्माउन सकिन्छ ? हो व्यवसायीहरुलाई नियमन र सहयोग गर्ने हो नकि कस्ने हो । अहिले नियामक निकाय तथा सरकारले समेत बहुमत जनमतको कुरा सुनेर आफ्नो नितिहरु लागु गर्ने परम्परा बढ्दो छ यसले देश र पद्धति कता जान्छ भन्ने प्रश्न चिन्ह खडा हुन्छ । यस्तो परम्परा रहिरह्यो भने राज्य असफलता तिर जान सक्छ भन्न सकिन्न ।

गुप्ताले शिक्षा, कुटनीति र अर्थसम्बन्धी विषयमा कलम चलाउने गरेका छन । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १५:०१