१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

माओवादी रूपान्तरणको सन्देशः लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त


२१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेकै दिन सरकारले दोहोरो नागरिकता लगायत विभिन्न काण्डले बद्नाम भएका सिन्धुपाल्चोकका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । अभियानको घोषणा गर्ने माओवादी केन्द्रका अध्यक्ष नै हुन भने यता कोषको उपाध्यक्षमा नियुक्ति गर्ने मन्त्री माओवादीकै नेता सुदन किराँती र प्रधानमन्त्री प्रचण्ड हुन ।

दोहोरो नागरिकता, राहदानी, वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जनलगायतका मुद्दामा पटक पटक पक्राउ पर्दै राजनीतिक आडामा छुट्दै र बच्दै आएका पूर्व अर्थराज्यमन्त्री समेत रहेका लामालाई मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामा स्वयंले पुष्टि गरेका छन ।

लामा नेकपा माओवादी केन्द्रको केन्यद्रीय सदस्य समेत हुन । लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका लामा २०६४ सालमा एमालेको सांसद बनेका थिए । २०६७ सालमा एमालेका झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएर १० दिनमै पदमुक्त भएका थिए । त्यसपछि उनी २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सांसद बनेका थिए ।

उनी तीनवटा पार्टीमा मात्र होइन तीन वटै देशसँग समेत जोडिएका व्यक्ति हुन । लामासँग वाङचुक रिम्पोछे नामको ११२१५८८ नम्बरको नेपाली र वाङचुक रिम्पोछे नामको २१२९८१२ नम्बरको भारतीय राहदानी रहेको प्रहरी अधिकारी बताउँछन । उनै लामासँग छिमे छिरिङ नामको तिब्बती शरणार्थी परिचयपत्र समेत रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार २१:१४