१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

माओवादी नेताको सम्पत्ति छानविन गराैँ


-जनार्दन शर्मा 

श्रद्धेय अध्यक्ष कमरेड र केन्द्रीय समितिकाे बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरु लाल सलाम !

१. समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौं । मान्छे हुनुको नाताले सवैको आ–आफ्नै स्वत्व हुनु स्वभाविकै छ । अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाइकै हौं २ जनामध्ये महासचिव जसलाई बनाएपनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दापनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?

२. अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, बैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु । परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वकाे आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाँहि अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाँहि व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयोहोला । समस्या जे हो त्यो चाँहि भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाँही काम गर्योहोला।

३. युवा कमरेडलाई यो पनि कुरा स्पष्ट होस् कि हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरुलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै त छ । आठौं महाधिवेशनको समापनपूर्व बसेको स्थायी समिति बैठकमा मैले केन्द्रीय समिति बनाउनुपूर्व अवकाश हुने एजेण्डामा छलफल गर्नुपर्छ भन्ने प्रस्ताव गरेको थिँए । कमिटीहरु समावेशी बनाउने र नयाँ युवाहरुलाई जिम्मेवारी दिने हो भने एक हामी तिहाई नेताहरुले विदा लिएर फरक भूमिकामा क्रियाशील हुनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । अहिले यो कुरा संभव छैन कसले छोड्न मान्छ र भन्ने कुरा उठ्यो । यसमा सबभन्दा पहिले म तयार छु भनेर मैले भनें । त्यसपछि बलदेव, मात्रिका र गणेश शाह कमरेडले यो प्रस्ताव मान्न आफूहरु तयार रहेको कुरा गर्नुभयो । केहीले यसमा आफूहरु तयार हुन नसकेको कुरा गर्नुभयो भने केही मौन बस्नुभयो ।त्यसपछि छलफल गरौंला भनेर अध्यक्षले यसलाई टार्नुभयो । तर आजसम्म छलफल भएन । मैले अध्यक्षलाई असहयोग नहोस भनेर संगठन विभागको जिम्मा लिएर काम गरिरहको छु । पार्टीका हरेक बैठक भन्दा पहिले विभागको तर्फबाट प्रतिवेदन बुझाउने गरेको कुरा स्पष्ट गर्न चाहन्छु ।

४. यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु । यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान थालनी हो । सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रुपले पनि राखिएको छ । मैले संसदको रोष्टमबाट २०४७ साल यताका सवै नेताहरुको सम्पत्ति छानविन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थन विना बालुटार प्रवेश संभव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ । पार्टीभित्र पनि सम्पत्ति छानविन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ । तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानविन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुस्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ । म फेरी पनि भन्छु– छानविन गरौं कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैंक व्यालेन्स कति छ ? म तयार छु । कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानविनको लागि मार्ग प्रसस्त गर्ने मै हुँ । म ४ पटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका काम कार्वाहीहरु नीति, योजना र त्यसको परिणाम जनताको बिचमा छन् । के के उपलब्धि भए भन्ने कुरा लिखित रुपमा पनि उपलब्ध गराउनेछु ।

५. जहाँसम्म पार्टीको कुरा छ–१० प्रदेशकै सुझाव र आलोचना लिएर संगठन विभागले आफ्नो प्रतिवेदन पेश गरिसकेको कुरा अध्यक्ष स्वयंले भनिसक्नुभएको छ। अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा प्रदान गर्नेछ । यसमा थप्नुपर्ने केही कुराहरु म यहाँ राख्न चाहन्छु ।

 हालसम्म प्राप्त उपलब्धिबारे जनताकाबिचमा राम्रोसँग नलिएको मात्र हैन युद्ध, शान्ति, संविधान निर्माण र कार्यान्वयनबारेका एतिहासिक उपलब्धिहरुको संश्लेषण नगरेर इतिहासको अवमूल्यन भएको छ । यसलाई सच्याउदै पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी छ ।
 आठौं महाधिवेशनद्वारा पारित दस्तावेजमा उल्लेखित अन्तरार्राष्ट्रिय परिस्थितिको समीक्षा, संक्षिप्त एतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनैतिक परिस्थिति बारे, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकनबारे १६ वटा बुँदामा गरिएको संश्लेक्षणलाई आम कार्यकर्ता र जनताबिच छलफल चलाई सोको अध्ययनसहित निम्न ४ कुराको आधारमा समाजवादको आधार तयार पार्नेः
क) वामपन्थी तथा प्रगतिशील जनमतलाई केन्द्रीत गरी उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।
ख) भौगोलिक र पर्यावरणीय विविधता, जातिय विविधता, सांस्कृतिक विविधता, अपार प्राकृतिक साधन श्रोत, युवा बहुल जनसंख्या, श्रमयोग्य शक्तिको प्रचुरतालाई आधार बनाइ आर्थिक विकास, गरीवी अन्त्य, रोजगारी सृजना, आत्मनिभरताको लागि पहल गर्नुपर्छ ।
ग) सरकार, सदनबाट सुसासन र सामाजिक न्याय लक्षित कार्यक्रममार्फत जनजीवीकासंग संम्बन्धित समस्या समाधान गर्नुपर्छ ।
घ)समाजमा विद्यमान विभिन्न विभेद र शोषणका विरुद्ध आम जनताको चेतना बृद्धि सहितको प्रतिरोधका रुपमा सामाजिक सांस्कृतिक रुपान्तरण अभियान सन्चालन गर्नुपर्छ ।
 पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्छ ।नेतृत्व चयनका लागि पार्टिभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ ।समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ ।
 माओवादी धारालाई अब समाजवादी धारामा रुपान्तरण गरी सोही अनुसार हाम्रो सैद्धान्तिक मार्गनिर्देशन तयार गर्नुपर्छ ।
 अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तिमा एक तिहाईले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्छ ।
 पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरा सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई अविश्वास र आशंकाले होइन विश्वासका आधारमा व्यवहार गर्ने पद्दतिको विकास गर्नुपर्छ ।
 पार्टीलाई पूर्णतः डिजिटल बनाउनुपर्छ ।डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्ने बाटो खोल्नुपर्छ ।उत्तराधिकारीहरुको लामबन्दी तयार गर्नुपर्छ ।
 कार्यकर्ता व्यवस्थापन कोष खडा गर्नुपर्छ ।


 शहीद परिवार, वेपत्ता परिवार, घाइते यौद्धाहरुलाई आत्मनिर्भर बनाउने योजना ल्याउनुपर्छ ।
 विभागहरु बनाउदा विज्ञतालाई आधार बनाउनुपर्छ । विभागहरुलाई थिङ्क ट्याङ्कको रुपमा विकास गर्नुपर्छ ।
 जवसहरुले पार्टीको नीतिप्रति नैतिक समर्थन जनाउदै जनवर्गका हितमा काम गर्ने, पार्टी सदस्य बहुमत नहुने गरी प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने र वास्तविक पेशामा रहेका व्यक्तिहरु मात्र सदस्य हुने प्रणाली विकास गर्नुपर्छ ।आफ्नो जनवर्गमा कम्तिमा १० प्रतिशतलाई संगठित गर्नुपर्छ ।
 मोर्चा संगठनमा पहिचान, भाषा संस्कृति, राष्ट्रियताको बारेमा जनतामा व्यापक प्रशिक्षण गर्दै थप अधिकार प्राप्तिका लागि जनपरिचालन गर्ने ।आफ्नो जनसंख्याको कम्तिमा १० प्रतिशतलाई संगठित गर्ने ।
 विदेशमा रहेका श्रमिकहरुका समस्या समाधान गर्न प्रवास पार्टी कमिटीले प्रत्येक्ष सम्पर्क, समस्या संकलन र सरकारको ध्यानाकर्षण गराउने । गैरआवासीय नेपालीका सन्तानलाईसमेत वंशजको नागरिकता प्रदान गरी सँधै नेपाली हुने अधिकार सुनिश्चित गर्ने ।
 पार्टी विभाजन लगत्तै माओवादी पुनर्गठन अभियान संचालन गरी नियमित छलफल अन्तरक्रिया र बैठकमार्फत पार्टीमा फर्कने वातावरण बनाएको स्मरण गराउन चाहन्छु ।आज पनि बाबुराम भट्टराइको नेसपासँग एकताको लागि भएको सहमति अनुसार अगाडि बढ्नुपर्छ । यसै गरी विप्लव समूहलाई वर्तमान पार्टीको कार्यदिशामा सहमत गराई एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।
 जनसम्बन्ध विस्तारका लागि गरीवि न्यूनिकरणका साथै जनजिविकाका प्रश्नहरुमा जनताकाबिचमा अन्तरक्रिया, प्रचार र संघर्षमार्फत समस्या समाधानको नेतृत्व गर्नुपर्छ ।
 नेपालको विकास मोडेल समुदायमा आधारित भएको कुरालाई आत्मसात गर्दै साना विकास निर्माणका कामहरु समुदायले गर्ने गरी कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्छ ।
 स्थानीय स्तरमा उपलब्ध प्राकृतिक साधन स्रोत, विकसित प्रविधि, जनश्रम र विकेन्द्रीत पूँजीको एकीकृत परिचालनमार्फत उत्पादन तथा रोजगारका लागि समूह, सहकारी, कम्पनीमार्फत पहल गर्नुपर्छ ।
 सहुलियतपूर्ण ऋण, बजारीकरण, मल, बीउ, प्रविधि सरकारले उपलब्ध गराउनुपर्छ । साना उद्योग र पर्यटन क्षेत्रमा समेत काम गर्नुपर्छ ।
 युवाहरुलाई आइटी क्षेत्रको तालिम दिई रोजगारयुक्त बनाउनुपर्छ।
 पार्टीभित्र फरक लाइन नभएपनि अविश्वासको मात्रा बढेको छ । त्यसलाई हटाउन मूल नेतृत्वले मुख्य टिमबिच घनिभूत छलफल चलाउनुपर्छ ।
 संघीयता कार्यन्वयनबारे अन्य केही पार्टीहरुले समानुपातिक हटाउने, प्रदेश हटाउने, जनमत संग्रह गर्नुपर्ने जस्ता बहस चलाएको सन्दर्भमा संघीयता कार्यन्वयनको सवलीकरण गर्ने, प्रदेशमा मन्त्रालयको संख्या घटाउने, संविधानले दिएका अधिकार हस्तान्तरण गर्ने साधनस्रोत बृद्धि गरी संघीयतालाई थप सुदृढ गरेर त्यसको जवाफ दिन जरुरी छ ।
 पहिचान, निर्वाचन प्रणाली, कर्मचारीतन्त्र र न्यायालयको लोकतान्त्रिकरण जस्ता मुद्दाहरुमा बौद्धिक वर्ग, संसद र दलहरुकाबिच बहस थालनी गर्नुर्छ ।
६. उन्नत लोकतन्त्रको अभ्यास गर्न, संवैधानिक अधिकारको प्रयोग गर्न समाजमा विद्यमान शोषण उत्पीडन, दलितका नाममा गरिने भेदभावका साथै अन्य विभेद, छाडा संस्कृति, भ्रष्टाचार र भ्रष्टाचारजन्य संस्कृतिका विरुद्ध सामाजिक सांस्कृतिक रुपान्तरण अभियानका रुपमा निरन्तर संघषर्ष संचालन गरी त्यसको तागतमा समृद्ध समाज, सुशासनयुक्त प्रणाली र युगको नेतृत्व निर्माणमा निरन्तर लाग्नुपर्छ । धन्यवाद !

(उपमहासचिव शर्माले पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विचार । -प्रधानसम्पादक)

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १६:२०