१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

शिक्षा र राजनीतिलाई श्रमसँग संयोजन गराैँ


-प्रा डा एकारत्न आचार्य

शिक्षा, राजनीति र श्रम त्रिआयामिक रूपमा मानव जीवनसँग अन्तरसम्बन्धित रहेका हुन्छन् । श्रम, शिक्षा र राजनीति मानव जीवनका विविध पक्षसँग जोडिएका हुन्छन् । मानव जीवन सफल बन्न श्रमसँग जोडिएकै हुनु पर्दछ । त्यसैले हाम्रा शैक्षिक संघ सस्थाले दिने शिक्षा श्रमसँग जोडिएकै हुन्नु पर्दछ ।

जब बालबालिका माथिल्लो कक्षामा पुग्दछन् उनीहरूमा श्रम वा कामप्रतिको सकारात्मक भावनाको विकास गराई विस्तारै घरायसी काममा लगाउनु पर्दछ । युवाहरूलाई काममा लगाउनुको मतलव कामप्रति सकारात्मक भावनाले उत्प्रेरित गरि काम गर्नु र जीवनलाई सहज बनाउनु हो । साना बालबालिकालाई पठन पाठन गर्दा शिक्षालाई श्रमसँग जोडेर शिक्षा दिन सकेमा श्रमप्रति उनिहरूको लगाव रहन्छ र काममा रूची बढ्दछ । आजका साना बालबालिका नै भोलिका देशका कर्णधार हुन् । उनीहरूले नै भोलिको देशको बागडोर सम्हाल्ने भएकाले उनीहरूलाई श्रम र शिप्संग जोड्नु अपरिहार्य हुन्छ ।

ज्ञानगुन तथा पाठन पाठनमा श्रमलाई शिक्षासँग जोड़ेनौं भने उनीहरूले श्रमको महत्तो बुझ्दैनन् र भोलि त्यो युवा बेरोजगार बन्दछ अनि त्यसबाट घर परिवार र समाजमा बिग्रह र उत्सृङ्खलता आउन सक्छ । सो बिकराल समस्याबाट देश र युवा जनशक्ति अर्थात् मानव जनशक्तिलाई श्रमसँग जोड्नु सबै शिक्षण तथा प्रशिक्षणको अपरिहार्य आवस्यकता देखिन्छ । यसतर्फ सरकारी तथा गैर सरकारी संघ सस्था र सबै पार्टी, दल वा समुहको यसमा ध्यान जानु राम्रो देखिन्छ । त्यसो भन्दैमा साना अबोध बालबालिकालाई काममा लगाउनु पर्छ भन्ने होइन । तर श्रम र शिक्षाको अन्तरसम्बन्धको बारेमा सानैदेखि बालबालिकामा ज्ञान दिनु जरूरी हुन्छ ।

त्यस्तै पार्टी वा दल वा समूह पनि बेरोजगार बन्न गएमा त्यो समूहमा बिग्रह र उत्सृङ्खलता आउन सक्छ । उक्त अवस्थाबाट देश र युवा जनशक्तिलाई बचाउन उनीहरूलाई श्रमसँग जोडेमा कामले उनीहरूलाई कर्मशील र ससक्त उर्जावान बनाउँछ । आधुनिक प्रविधीको उपयोग गर्दै मेहनत पुर्वक काम गरेपछि उत्पादन बढ्दछ र त्यसबाट समृद्धि तथा सम्पन्नता आउँछ अनि अभावमा बाँच्नु पर्दैन । त्यसैले देश विकास गरि समृद्ध बनाउन शिक्षा र राजनीतिमा श्रम जोड्नु अपरिहार्य देखिन्छ । त्यसो हुनाले सो अनुसारको कार्यक्रम बनाएर गाउँबस्तीमा प्रशिक्षण संचालन गरेमा समाज रूपान्तरण हुन सक्छ ।

विभिन्न दल वा पार्टीले ग्रामिण वा सहरी क्षेत्रमा विभिन्न तहमा प्रशिक्षण दिंदा मानिसका दैनिक जनजीविका र श्रमसँग जोडेर प्रशिक्षण दिनु सान्दर्भिक देखिन्छ । एउटा दल वा पार्टीले अर्को दल वा पार्टी वा समुहलाई गाली गरेर हामी ठीक फलानो बेठिक भनेर कुनै उपलब्धि र विकास सम्भव छैन । यसमा सबैले होसियारी र सजग हुनु पर्दछ । ग्रामिण वा सहरी जीवनसंग जोडिएका उपभोग्य वस्तुको सदुपयोग गरि त्यसलाई उत्पादनमुखी बनाउनु पर्दछ । जस्तै जमिन उपभोग गर्ने तरिका, नविन खेतीपातीका प्रविधि र तौरतरिका, कृषिमा आधुनिकरण र सचेतना, पशुपलानमा आधुनिकरण र सचेतना, आम्दानी खर्चको लेखा राख्ने तरिका, सरसफाई, स्वास्थ्य, पौस्टिक आहार र त्यसको उपयोग, बालबालिका तथा वृद्धलाई चाहिने लिटो तथा आहार र बलको काम गर्ने युवा युवतिलाई चाहिने आहार, गर्ववती र सुत्केरी महिलालाई चाहिने आहारविहारको जानकारी र उपयोगको वातावरण निर्माण गर्ने काम हुनु अति आवस्यक छ ।

सानातिना घाउ, चोट पटक लाग्दा गरिने प्रार्थमिक उपचारका ज्ञान शीप र साधनको उपयोग सम्बन्धि तालिम दिने, घरमै महिलालाई चाहिने सानीटरि प्याडको निर्माण र उपयोग गर्ने शीप सिकाएर घरमै खेर गएका कपडा तथा कपासको सदुपयोग गर्ने व्यवहारिक काम सिकाए जनतामा सकारात्मक प्रभाव पर्छ । त्यसले समाज मानव संसाधन र जनशक्ति उत्पादनमा जोडिन्छ अनि मात्र समृद्धि आउँछ र जनता सुखी एबं खुसी हुन्छन् ।

स्थानीय स्तरमा स्थानीय साधन श्रोतमा आधारित शीप भएका युवा तथा प्रौढसँग समन्वय गरि स्थानिय तहमा पाइने साधन जस्तैस् तराईको वनमा पाइने साल, भोर्लो बाबियो, केतुकी, वेत बाँस र अन्य पतझर विरूवाका हाँगा, पात, डाँठ, लोक्ता, केरका पात, थाम, फुल, मकैका डाँठ, पोस्कर, खोइला आदि जस्ता वनस्पतिजन्य साधनबाट टपरी, दुना, दाम्लो, भकारी, डालो, थुन्से, टूल, कुर्ची, झोला, लट्ठी, ठेकी, आरी, रेशादार खादीका कपडा लगायत विविध सामग्री वनाउने शीप दिने र स्थानीय तहमा गाउँ पालिका पिच्छे होइन कि केहि पालिका वा जिल्ला वा प्रदेश विशेषमा पाइने साधन स्रोतका आधारमा साझा स्थानीय पाठ्यक्रम बनाउन र त्यसलाई स्कुल तथा कलेजमा लगाउन पहल र कार्यान्वयन गरेमा देश विकासको पाटोमा केहि होला अन्यथा केवल गफ(हल्ला र गाउँ बस्ति सहर घुमेर केहि हुँदैन । अनि साझा स्थानीय पाठ्यक्रम भन्नाले काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता समान प्रकृतिका अवसर र साधन स्रोत भएका महानगर, उपमहानगर र पालिकामा एउटै स्थानीय पाठ्यक्रम बनाउन सकिन्छ । यसले पालिका पिच्छेको स्थानीय पाठ्यक्रम बनाउने अनावस्यक खर्च कटौती गरि सो रकम शिक्षाका अरू आयाममा लगाउन सकिन्छ । सो बचेको रकम विपन्न परिवारका बालबालिकाको शिक्षामा अनुदान दिन सकिन्छ ।

अर्कोतिर आजकल हाम्रा परम्परित खानाहरू आटो, कोदाको ढिंडो, रोटी, विभिन्न स्वादको सुप वा फाँडोको माग देखिएकोले होटल व्यवसायमा सोसम्बन्धी तालिम दिएर पनि स्थानीय उत्पादन र शीपको प्रवर्धन गर्न सकिछ । मलाई लाग्छ यस्ता स्थानीय शीपजन्य प्रविधिको उपयोगले देशको जनशक्तिको मौलिक प्रविधीको उपयोग तथा संरक्षण पनि हुन्छ । यस्ता कामले देश समृद्ध बन्नमा सहयोग पुग्ने देखिन्छ । तसर्थ स्थानीय पाठ्यक्रममा यस्ता विषयवस्तु राखेर पठन पाठन र हरेक शिक्षण, प्रसिक्षण, नीति नियममा श्रम जोड्नु देश विकासका लागि श्रेयकर हुनेछ भन्ने ठम्याई र कार्यन्वयन आजको नेपालको आवस्यकता होइन र १ यस्ता कामले अहिलेको युवा जनशक्ति पलायनको विकराल स्थितिलाई पनि रोक्न र नेपालमै रोजगारमुखी अवस्था सिर्जना गरि युवाजनशक्तिलाई रोजगार बनाउन सहयोग गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

स्वस्थ जीवनका लागि स्वस्थ खानपान, ब्यायाम, खेल र आहारविहारको जरूरी हुन्छ त्यसका लागि योजनाबद्ध र नियमित खेल, ब्यायामको पनि व्यवस्था र कार्यान्वयन गर्नु गराउनु पनि गाउँ बस्तिमा गरिने प्रशिक्षणको प्रमुख भूमिका रहन्छ । खेलकुदमा पनि श्रम जोडिने भएकोले शिक्षा तथा राजनीतिले श्रम अनिवार्य रूपमा जोड्नु जरूरि देखिन्छ । यसक्रममा सरकारले वा राज्यले गर्न सक्ने र गर्नुपर्ने श्रमसँग जोडिएका केहि उच्च विकासका आयामहरू पनि उल्लेख गर्न चाहन्छु ।
सिचाईको लागि पुर्बपश्चिम राजमार्गको समानान्तर पुर्वपश्चिम कुलापानी, नहर, उब्जनी बढाउन उन्नत बीउ बिजन, मलखादको व्यवस्थापन, औधोगीकरणको लागि उधोग धन्दाको व्यवस्थापन, अध्ययन अनुसन्धानका लागि शिक्षालयको स्तरिकरण, छात्रवृत्ति र अनुसन्धान कोषको व्यवस्था, स्वस्थ मातृत्व र स्वास्थ्यको लागि आधुनिक औषधालय, उपकरण र औषधिको व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण तथा उचित प्रयोगको व्यवस्थापन, पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय शिक्षा, सुविधा सम्पन्न यातायात र होटल तथा बसाईको व्यवस्थापन, जलवायु परिवर्तन र यसबाट परेको असरबारे जनचेतनामुलक शिक्षा र संरक्षणका उपायको खोजी र कार्यान्वयन, नेपाली मौलिक रीतिरिवाज, संस्कृति र प्रविधिको संरक्षणका लागि स्थानीय तथा केन्द्रीयरराष्ट्रिय रूपमा संग्राहलयको स्थापना, वन्यजन्तु संरक्षणका लागि चिडियाखानारम्युजियमको व्यवस्थापन, विकास र संचालनका आयामहरूको खोजी, युवाहरूलाई रोजगारीका लागि कृषि, पर्यटन, उधोग धन्दाको व्यवस्थाका कुरा, ज्येष्ठ तथा बृद्ध नागरिकका लागि आरामदायी बसोबास र मनोरञ्जनका लागि आवश्यक खेलकुदको व्यवस्थापन, त्यस्तै युवाहरूलाई आवश्यक व्यायाम, खेलकुदको व्यवस्थापनका लागि खेलमैदान, स्टेडियमको व्यवस्थापन आदि ।

कुलेश्वर, काठमाडौँ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १९:५६