१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

‘अविरल जनसाहित्य शृङ्खला’मा महेशराज खरेलका एक दर्जन कविता प्रस्तुत


१३ साउन, काठमाडाैँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक ‘अविरल जनसाहित्य शृङ्खला’ ८१औँ अङ्कमा आज कवि महेशराज खरेलका एक दर्जन कविता प्रस्तुत भएको छ ।

कविता, यात्रा संस्मरण र समसामयिक लेखनमा सक्रिय स्रष्टा खरेलका छानिएका प्रगतिवादी कविता वाचन र समीक्षा गरिएको हो । उहाँका ‘चेतनाको गर्भबाट’, ‘आइदेऊ न माझीदाइ ढुङ्गा बचाउन’, ‘पदमा बसेको मान्छे’, ‘सङ्कल्प’, मनका पवित्र उभारहरू’, ‘नयाँ वर्ष’, ‘घरमै विद्रोह उम्रियो’, ‘नयाँ सन्देश’, ‘म’, बादल लागेपछि’, ‘तिम्रो पर्खाइमा’ र ‘आमा’ शीर्षकका कविता प्रस्तुत भएको थियो । उहाँलाई वाचनमा कविहरू नन्दु उप्रेती, डम्बर पहाडी, विन्दु ढकाल र अनु शर्माले सघाउनुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले साहित्यकारहरूले इतिहासको पुनरावलोकनसहित राजनीति, सामाजिक स्थिति र अर्थतन्त्रको विवेचनासहित विद्यमान निराशालाई चिरेर सुन्दर भविष्यका लागि रचना सिर्जना र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले विसं २०७४ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतामा देखिएको उत्साह विसं २०७८ को विभाजनका कारण युवामा एक प्रकारको वितृष्णा पलाएको अवस्थामा त्यसलाई आशामा बदल्नु राजनीतिकर्मी र स्रष्टाहरूको दायित्व भएको जनाउनुभयो ।

वाचित कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले खरेलले समसामयिक राजनीतिक र सामाजिक घटनाबाट प्रभावित भई समाजका लागि दायित्वपूर्ण लेखन गरेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली भूमि बाँझो राखेर खाडी मुलुकमा काम गर्न जान विवश युवाका समस्या र राजनीतिक नेतृत्वले पदमा पुगेर देखाएका गलत आचरणको चिरफार गरिएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले नयाँ पुस्तालाई जनसंस्कृतिमा जोड्न सांस्कृतिक क्षेत्रमा सात घटक बनाएर विविध गतिविधिलाई निरन्तरता दिइएको जनाउनुभयो । शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले कवि खरेलको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । खरेल राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी पनि हुनुहुन्छ ।

सङ्घका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्मदेश्वरी सत्यालले आगामी शृङ्खलामा कवि अनिता लामाका कविता प्रस्तुत हुने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १९:३३