१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मागेको नदिएपछि पत्रकारलाई ज्यान मार्ने धम्की भनेर प्रचार गरेछनः दुर्गा प्रसाई


३० असार, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफूले कुनै पत्रकारलाई धम्की नदिएको बताएका छन । विकासन्युजका रामकृष्ण पौडेललाई प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै विभिन्न संस्थाहरूले विज्ञप्ति निकालेपछि दैनिकीले चासो राख्दा उनले आफूले कसैलाई पनि धम्की नदिएको बताए ।

चर्चित व्यवसायी प्रसाईले दैनिकीसँग कुरा गर्दै भने, ‘केही मागेका थिए, मैले दिइन, त्यसपछि मेरा बारेमा सिरियल समाचार लेखे, त्यसले पनि पार नलागेपछि ज्यान मार्ने धम्की दियो भनेर प्रचार गरेछन ।’ उनले आफूले असम्बन्धित मान्छेहरूसँग जोडेर आफ्ना बारेमा दुष्प्रचार नगर्न पौडेललाई आग्रह गरेको बताए । उनले प्रश्न गरे, ‘म त विभिन्न बित्तिय संस्थाले मार्न बाध्य बनाउन खोजिएका मन्छेलाई बचाउन लागिरहेको म पत्रकारलाई कसरी ज्यान लिने धम्की दिन सक्छु रु एउटा सत्य के हो भने मैले पहिल्यै देखि भन्दै आएको छु पत्रकार र सञ्चार माध्यमले जनताको कुरा लेख्नु र बोल्नुपर्छ । बिना तथ्य हावाका भारमा अरूलाई जे पायो त्यही लेखेर आरोपित गर्नुहुन्न ।’

व्यवसायी प्रसाई र पत्रकार पाैडेलका बीचमा भएको सन्देशात्मक कुराकानी ।

प्रसाईले पौडेलले आफूलाई मोबाइलमा म्यासेज गरेर केही मागेको तर नदिएपछि निरन्तर अफवाहपूर्ण समाचार लेखेको बताए । प्रसाईले विकासन्युज भनेर सेभ गरेको मोबाइलबाट चेतावनीयुक्त भाषामा भनेअनुसारको काम किन नभएको भन्ने म्यासेज समेत आएको स्क्रिनसर्ट दैनिकीले प्राप्त गरेको छ । त्यसमा विकासन्युजका रामकृष्ण पौडेलले इमेल ठेगाना पठाएका छन । त्यसमा प्रसाईको तर्फबाट केही इमेल पठाएको अनुमान गर्नसकिन्छ । सोही कुराकानीमा पौडेलले भरि ‘एस आई गट’ भनेका छन । त्यसपछि पौडेलले नै प्रसाईलाई फलोअप गर्दै प्रश्न गरेका छन, ‘खोई त ? नाम दिएँ खबर आएन ? हामीलाई तौलनमात्र कुरा गरेको हो ?’ त्यसपछि प्रासईले फोन गरेको अनुमान गर्न सकिन्छ त्यसमा पौडेलले टेक्स मि भनेर म्यासेज गरेका छन ।

दैनिकीले विकासन्युजका रामकृष्ण पौडेलसँग ज्यान मार्ने धम्कीको विषयमा बुझ्न खोज्दा उनले प्रसाईले छाडा शब्द प्रयोग गरेको बताए । उनले आफू परिवारको सदस्यसहित गाडीमा हिँडिरहेको समयमा ब्लुटुथबाट फोन रिसिभ गरेको तर अरूले सुन्नै नसक्ने गरी बोलेपछि फोन काटिदिएको बताए । उनले प्रसाईले बाहिर होटलमा भेट्न बोलाएको तर आफूले कार्यालयमा बोलाएपछि प्रसाई नआएको बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखा लगायतले प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै विज्ञप्ति निकालेर कारबाहीको माग गरेका छन । तर प्रसाईले भने पौडेलसँग आफूले फोनमा कुरा गर्दा पनि सर भनेर सम्बोधन गरेको दाबी गरेका छन । यस्तो विषयमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल जस्ता संस्थाले गम्भीर रूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । जसका कारण पत्रकारको पेशागत सुरक्षा र पत्रकार आचारसंहिताको पालना दुबैमा थप सहयोग पुग्छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्ति ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १५:३४