१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नविन अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’


१० असार, काठमाडाैँ । प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुद्को समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ । खेल पत्रकार नवीन अर्यालद्वारा लिखित सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यसै महिना काठमाडौंमा सार्वजनिक गरिने भएको छ । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो ।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको छ । यसैगरी सिमित साधन स्रोतका बावजुद नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।

पुस्तकमा ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुलाई पनि समावेश गरिएको छ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि यो पुस्तक महत्वपुर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ । नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ । साथै, निकट भविष्यमै खेलकुदसम्बन्धि करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार २१:०३