१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

आनन्दप्रसाद पोखरेल एक गर्विलो कम्युनिष्ट इतिहास


-सरोजकुमार तामाङ

वि.सं. २०१६ सालमा दोलखाको जफेमा जन्मनु भएका दोलखाली कम्युनिष्ट धरोहर एवम् सबैका प्यारो आदरणीय नेता आनन्दप्रसाद पोखरेलले १३ बर्षको उमेरमै अनेरास्ववियूको सदस्यता लिएर २०३४ सालमा अखिल क्रान्तिकारी कोर्डिनेसन केन्द्र (माले) मा आवद्ध भई त्यति बेलाको निरंकुश पंचायती व्यवस्था बिरुद्ध जोखिमपूर्ण संघर्ष गर्दै २०३८ कात्तिकदेखी २०३९ साउनसम्म भद्रगोलमा बन्दी जीवन बिताएका थिए । जेलबाट छुटेपछि कृषि क्याम्पस चितवनमा अध्ययनको क्रममा अनेरास्ववियूको चितवन जिल्ला अध्यक्ष हुँदै नारायणी अञ्चल कमिटी सचिवको भूमिका सशक्त ढँगले निर्वाह गर्दै संगठनलाई चुस्त र दुरुस्त बनाउन कुनै कसर बाँकी राख्नु भएन् । अध्ययन पश्चात: २०४३ सालमा तत्कालीन नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्यको रुपमा दोलखाली कम्युनिष्ट आन्दोलनमा होमिदैँ अहिलेसम्म निरन्तरता दिदैँ आउनु भएका ती अग्रज ब्यक्तिमाथि कसैले आज उहाँले नै निर्माण गर्नु भएको मञ्चबाट आवेशको भरमा फगत दोषारोपण गर्नु अवसरवादी मानसिक विचलन बाहेक अन्य केही होइन् ।

अग्रजहरुले निर्माण गरेका ती मञ्चमा उभिएर विरासतलाई हिलो छ्याप्ने कामको जति नै निन्दा गरेपनि कमै हुन्छ । हामी इतिहासको उपज हो भन्ने कुरा बिर्सनु हुँदैन् । तर, बिर्सनेहरुलाई क्षमा पनि दिन सकिँदैन् किनकि इतिहासका ती निर्माताहरुलाई तथानाम गाली गर्नेहरु वास्तवमा हाम्रो राजनीतिक पहिचानको चिहान खन्दैछ । दोलखाली कम्युनिष्टको पहिचानलाई नामेट पर्न खोज्ने जो कोहीलाई पनि समयमै सँच्चिन हामी विनम्र आग्रह गर्दछौं । दोलखाली कम्युनिष्ट कुनै सिसा-कलमले लेखेको कापी होइन, यो त ढुंगामा कूँदिएको मूर्ति समान हो । जस्तै हुरीबतास थाम्न सक्ने सामार्थ्य ती अग्रज आनन्दप्रसाद पोखरेलकालीन साहसिक योद्धाहरुको आर्किटेकमा निर्माण भएको हो । त्यसैले फुटमा होइन, जुटमा शक्ति संचय हुन्छ भन्ने विगतको मान्यतालाई कसैले पनि नबिर्सऔं ।

आनन्दप्रसाद पोखरेल त्यही अग्रज ब्यक्तित्व हुनुहुन्छ जसले सातु र मकैं खादैँ निरंकुश पंचायतकालमा आफ्नो परिवारको समस्यालाई थाती राख्दै घामपानी, भोक र प्यास नभन्दै घण्टौंको पैदल यात्रा तय गर्दै जफेदेखी गौरीशंकरको फेदीसम्म एक्लै अप्ठ्यारो अवस्थामा गाउँ पार्टी कमिटीदेखी जिल्ला कमिटीसम्म सशक्त र क्रियाशील बनाउन त्यो बेलादेखी अहिलेसम्म सांगठनिक योगदान गर्दै आउनु भएको छ । यति लामो राजनीतिक संघर्षको जीवन बोकेका ब्यक्तिलाई काँध थाप्दै उहाँ र उहाँका समकालीनहरुले निर्माण गरेका कम्युनिष्ट गोरेटाहरुलाई फराकिला बनाउँदै जानु पर्नेमा उल्टै प्रश्न चिन्ह खडा गर्नु न्यायसंगत हुँदैन् । ती असभ्य भाषाका प्रश्नकर्तालाई म के सवाल गर्न चाहन्छु भने ‘तपाईले अहिलेसम्म संगठन निर्माण गर्न कति योगदान दिनु भो ? समग्र दोलखाको संगठनलाई उहाँले भन्दा एक कदम माथि उठाउन सक्नु भो ?’ यदि यो प्रश्नको जवाफ तपाईसँग छैन भने गर्न धेरै बाँकी छ भन्ने बुझ्नुहोस् । अहिले तपाईहरुको नेतृत्वमा रहेका गाउँदेखी जिल्लासम्मका दोलखा जिल्लाका जुनसुकै संगठनहरु विगतको भन्दा फितलो छ या सशक्त ? उत्तर हुन्छ; फितलो । स्मरणरहोस् आज दोलखा जिल्लामा जेजति कम्युनिष्टहरु गाउँघरमा हूँर्केका छन, ती सबै आनन्दकालीन समयको योगदानले हो । त्यसको मलजल गर्दै अघि बढ्नु पर्नेमा गुटको राजनीति गर्दै फुटको संघारमा पुर्याउने कथित अवसरवादी युवाहरुले पदलाई प्रतिष्ठाको बिषय बनाउनु सामाजिक परिवर्तनको मुद्दालाई तिलान्जली दिनु हो । बिरोध गर्न पाइन्छ तर, बिरोध गर्दा जसको बिरोध गरिन्छ उसको भन्दा अबब्ल काम गरेर देखाउने हिम्मत हुनु पर्यो । अनेथा अरुले अथक संघर्ष गरेर प्राप्त गरेको विरासतमा एम्बुस थाप्दाँ आफैंलाई एम्बुलेन्स खोज्ने दिन आउँदैन भन्न सकिँन्न ।

२०४३ सालमा जफे गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च जित्दै गौरवशाली कम्युनिष्ट इतिहासको निर्माण गर्ने ब्यक्तिले यो पटकको निर्वाचनमा आफैंले बिजारोपण गरेको पार्टीलाई गद्दार गर्छ भन्ने कुरा कसरी पत्याउने ? ल्याएको टिकट खोस्दै बिना सुझबुझ र चुनावी रणनीतिको अभावमा मपाई जसरी कसैको सल्लाह सुझाव नसुनी चुनावमा होमिने अनि हारिएपछि दोष अरुलाई थुपार्ने यो कम्युनिष्ट चलन भन्दा बाहिरको कुरा हो । यस्ता सस्ता गफास्टिकहरु समय-समयमा देखापर्नु हाम्रा लागि नयाँ र नौलो बिषय होइन् । समय सान्दर्भिक हुनुपर्नेमा असान्दर्भिक तत्वहरुको उत्खनन गरेर समय बर्बाद पार्नु पक्कै पनि ‘हलो अट्काएर गोरु चुट्ने’ असभ्य संस्कारको अवशेष र आधारलाई यान्त्रिकरण गर्न खोज्नु हो । कम्युनिष्टको वैचारिक बहस भनेको वाद, प्रतिवाद हुँदै सम्वादमा पुग्नु पर्नेमा वादबाट घाट हुँदै मलामी मात्र फर्कने पश्चागामी सोचलाई पूर्णविराम दिदैँ एकताको सुत्रमा बाँधिने मन्त्रका साथ आगामी ०८४ को निर्वाचनमा कसरी कम्युनिष्टमय दोलखाली बनाउन सकिन्छ, त्यो बारेमा पहलकदमी गरौं । गर्व गर्न लायक दोलखाली कम्युनिष्ट इतिहासको सम्मान गरौं । अरुलाई तथानाम लोपोन्मुख शब्दहरुको गाली बर्षाएर बनेको गर्विलो इतिहास अहिलेसम्म संसारको कुनैपनि कुनामा दर्ज छैन् । बरु, इतिहासको रक्षा गर्दै, अग्रजको सम्मान गर्दै हिड्ने युवाहरुले नै संसारलाई चकित पार्ने वैज्ञानिक आबिष्कारहरु गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार २०:४६