१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने तीन दलबीच सहमति


१३ जेठ, काठमाडाैं । प्रतिनिधि सभामा उठेको पशुपतिनाथको जलहरीका विवादमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् ।

शनिवार सिंहदरबारमा भएको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले जलहरी विवादका विषयमा संसद्‍मा सम्बोधन गर्ने सहमति भएको हाे ।

एमालेका सचेतक पदम गिरीका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली नजोडिने बताएका थिए ।

‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुनेगरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको हो,’ गिरीले भने, यसलाई गलत भनेरै जानुपर्छ भन्ने अण्डरस्ट्याण्डिङ बनेको छ । प्रधानमन्त्रीले यसबारे संसद्मा सम्बोधन गर्नुहुनेछ ।’

यस्तै, माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको गिरीले जानकारी दिए । आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरूरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

यससँगै सदनको अवरोध हट्ने भएको छ । तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । प्रतिनिधि सभा बैठक आज साँझ ४ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यसअघि गत बुधवारको बैठकमा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखेको आरोप लगाएका थिए । उक्त आरोपपछि एमालेले शुक्रवारको बैठक अवरुद्ध गरेको थियो ।

तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ११:२१