२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

रेशम चाैधरीलाई जेलमुक्त गरि सत्ता टिकाउने खेलमा झड्का, माफीको फाइल राष्ट्रपतिबाट फिर्ता

१२ जेठ, काठमाडाैँ । सरकारको रेशम चाैधरीलाई जेलमुक्त गरि सत्ता टिकाउने खेलमा झड्का लागेको छ । सजाय माफी गरी गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गर्ने गरी सरकारले राष्ट्रपतिलाई पठाएको पत्र राष्ट्रपति कार्यालयले फिर्रा पठाएको छ । राष्ट्रपति रामचन्द्र पाैडेलसँगको सल्लाहमै कार्यालयले चाैधरीको फाइल पीडितहरूको निवेदनसहित फिर्ता गराएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले दैनिकीलाई जानकारी दिए ।

कार्कीका अनुसार कार्यालयले आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै पीडित मध्येकी एक शारदा कठायत बोहराको निवेदनसमेत संलग्न गराएर गृहमन्त्रालयमा फाइल फिर्ता गरिएको हो । शारदा टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन ।

कैलालीको टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको भाला रोपेर मारिएको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका चाैधरीको बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो । तर राष्ट्रपति कार्यालयले केही सन्दर्भ समेत उल्लेख गर्दै फाइल नै फिर्ता गरिदिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाैधरीको माफीसम्बन्धी फाइल राष्ट्रपति कार्यालय पठाउन लगाएका थिए । चाैधरीको पत्नी रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने चेतावनी दिएपछि प्रचण्डले फाइल पठाउन लगाएका थिए । राष्ट्रपति कार्यालयले फाइल फिर्ता गरिदिएपछि अब नागरिक उन्मुक्तिको सत्तायात्रामा ब्रेक लाग्छ वा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने प्रतिक्षाको विषय भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार २०:२९