१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नक्कली शरणार्थी प्रकरणः आरोपी प्रतिवादीहरुको वयान सुरु


१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको वयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीद्वय केशव दुलाल र सागर राईको बयान लिन थालिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा लागेका ३० जना विरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी र कीर्ते लगायतको मुद्दा दायर गरिएको थियो । आरोपी १६ जना मात्र पक्राउ परेकाले उनीहरुको मात्र वयान लिइने तयारी गरिएको छ ।

आरोपीहरुको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्न अनुमान गरिएको छ । आज शुक्रबार परेकोले बढीमा दुई जनासम्मको वयान लिने कार्य हुने छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १३:५४