६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एसएसपी डा मनोजकुमार केसीः जसले बालकृष्णको आदेशमा बसन्तले बन्द गरेको फाइल खोले


१० जेठ, काठमाडौँ । अहिले सबै नेपाली नागरिकले जानकारी पाउने गरी चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको अमेरिकामा मानवस्तकरी गर्ने तयारी भएको प्रकरणमा बन्द गरिएको अनुसन्धानको फाइल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले खोलेको पाइएको छ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा तत्कालीन कार्यालय प्रमुख हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले बन्द गरेको फाइल खोलेर केसीले अनुसन्धान प्रकिया अघि बढाएका हुन । कुँबरले पक्राउ परेका अभियुक्त केही घण्टामै छाडेर त्यसको प्रमाणसमेत नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ ।

राज्यविरूद्धकै अपराध हुनेगरी थुप्रै हाइप्रोफाइल समेत संलग्न रहेको सुइको पाइपछि एसएसपी केसीले भने जाहेरी लिएर घटनामा संलग्न भएकाहरू माथि अनुसन्धान अघि बढाएका थिए । त्यसका निम्ति केसीले तत्कालीन प्रहरी प्रमुख धिरजप्रताप सिंहको बिदाइ र वर्तमान प्रहरी प्रमुख बसन्त कुँवरको सपथको बीचको समय उपयोग गरिएको पाइएको छ । केसी त्यसबीचमा यस प्रकरणमा मुख्य अभिुक्तहरू केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए ।

पक्राउ परेका उनीहरूले प्रारम्भिक वयानमै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र तत्कालीन गृहसचिव प्रेमकुमार राई, टेकनारायण पाण्डे लगायतको नाम लिएर उनीहरूलाई पैसा बुझाएको बताएका थिए । त्यसपछि अभियुक्तहरूको वयानको आधारमा प्रमाणसंकलन गर्दै प्रहरीले थप अभियुक्तहरू पक्राउ गरेको थियो । त्यसपछि जोगिनका लागि प्रहरी सम्पर्कमै रहेका घटना दबाबन खोजिरहेका बालकृष्ण खाँणलाई समेत केसी नेतृत्वको टोलीले पक्राउ गरेर अुनसन्धानको दायरामा ल्याएको थियो । बीचमै कांग्रेसको सेटिङमा मुद्दा चलाउने अन्तिम तयारी भैरहेको अवस्थामा एसएसपी केसीले थप १० जनाको जाहेरी लिएर संगठित अपराधको मुद्दा चलाउनका लागि ग्राउण्ड तयार गरेका थिए ।

प्रहरी प्रमुख कुँवरले नक्कली शरणार्थी बनाएर मानवतस्करी गर्न लागिएको घटनाका मुख्य अभियुक्तहरू मध्येका केशव दुलाल र सानु भण्डारीसँग पटक पटक सम्पर्क र भेटघाट गरेका थिए । जुन प्रमण अनुसन्धानका क्रममा अधिकृतहरूले प्राप्त गरेका छन । कतिपय अवस्थामा कुँवर विचौलियाको बीचको भेटघाटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मध्यस्तकर्ताको भूमिका समेत खेलेको पाइएको छ । पाण्डेले कुँवरसँग कुरा गरेपछि अर्का विचौलिया सानु भण्डारीले तत्कालीन डिआइजी कुँवरसँग भेटगरेको तथ्य नै भेटिएको छ । गत असार १३ गते उनीहरूको बीचमा भेट भएको तथ्य प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

कुँबर एसएसपी हुँदा बालकृष्ण खाँडदेखि टेकनारायण पाण्डेसम्म जोडिएपछि अनुसन्धानको फाइल पिलरबाट मगाएर आफ्नो घरमै लगेको प्रहरी स्रोतले बताएको छ । सानु भण्डारी र टंक गुरूङलाई पक्राउ गरेको केही घण्टामै तत्कालीन गृहमन्त्री खाँणको आदेशमा छाडेका कुँवरले पछि फाइल नै बन्द गरेका थिए ।

प्रहरी प्रमुख कुँवरले एमाले सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भागाउन भूमिका खेलेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ भएपछि मात्रै कुँवरले जानकारी पाएका थिए । कुँबरको मिलेमतोमा केहीदिन टोपबहादुर लुकीछिपी बसेको प्रहरी स्रोत बताउँछ । अपराध अनुसन्धानमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद देखिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खाँण पक्राउ गरेरमात्र सूचना दिएको थियो । जसको नेतृत्व कार्यालयका प्रमुख एसएसपी डा मनोजकुमार केसीले गरेका थिए । पछि रायमाझी भगाएको आरोप लागेर आफू फस्ने देखेपछि कुँबरले आफ्नै मातहतको विशेष ब्यूरो परिचालन गरेर टोपबहादुर पक्राउ गरेका थिए ।

के हो नक्कली भुटानी शरणार्थी प्रकरण ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने योजना तत्कालीन कांग्रेस, एमाले र माओवादी नेता कार्यकर्ता र विचौलियाको सेटिङमा तयार भएको थियो । गिरोहले ८७५ जना नेपालीसँग १० लाखदेखि ५० लाख रूपैयाँ असुल गरेको पाइएको छ । गिरोहकै योजनामा तत्कालीन सरकाले २०७६ जेठ ३० मा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको दाबी समेत कतिपयले गरिरहेका छन ।

को को कहिले पक्राउ परे ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्ने गिरोहमा संलग्न भएकाहरू मध्ये अहिलेसम्म १२ जनालाई पक्राउ परेका छन । ती सबै काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालको अगुवाइमा पक्राउ परेका छन ।

२०८० जेठ ०४

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० वैशाख ३१

नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख २७ गते

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उका निजी सचिव नरेन्द्र केसी पक्राउ

२०८० वैशाख २६ गते

नक्कली शरणार्थी बनाइदिन्छु भनेर पैसा असुल्ने काममा लागेका टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २०

पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । पूर्व ऊर्जामन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२०८० वैशाख १९

तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

२०७९ चैत १५

विचाैलिया भनेर चिनिएका सागर राई पक्राउ

२०७९ चैत १२

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइदिने प्रलोभन बाँडेर पैसा उठाउने काममा संलग्न पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ

के गर्छ काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालले ?

यसको स्थापना २०५० सालमा काठमाडौँ प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा भएको थियो । पछि उपत्यका अपराध अनुसन्धान शाखा, महानगरीय अपराध अनुसन्धान महाशाखा हुँदै अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको रूपमा रहेको छ । यो २०६३ साल मंसिर १ देखि महाशाखाको रूपमा स्थापित भएको हो । तर धेरै पछिसम्म काठमाडौँ प्रहरी परिसरसँगै रहेको यो निकाय केही वर्षयता नयाँबानेश्वरमा रहेको छ ।

देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरीले यो कार्यालयलाई जिम्मा दिएको छ ।

काठमाण्डौं उपत्यकाको बढ्दो जनघनत्व र अपराधमा प्रयोग भैरहेको आधुनिक प्रविधिको कारण यस महाशाखाको कार्यसम्पादनलाई गुणात्मक रुपमा अभिवृद्धि गर्दै लैजानुपर्ने यथार्थता अनुरुप उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी अपराधको परिणाममुखी र वस्तुनिष्ठ अनुसन्धान गर्ने जिम्मेवारी यस महाशाखाको मुख्य प्राथमिकता रहेको छ । मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत प्रहरीलाई अनुसन्धान गर्ने अख्तियारी प्राप्त मुद्धाहरुको दायराभित्र पर्न आउने अपराधहरु मध्ये काठमाण्डौं उपत्यकामा घटित बिभिन्न प्रकृतिका अपराधहरुको अनुसन्धान र नियन्त्रण गर्दै सुरक्षित काठमाडौँ उपत्यकाको अवधारणालाई साकार पार्ने कार्यमा यस कार्यालयले काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ११:३४