८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उद्यमीहरु निरुत्साहित हुने काम सरकारले नगरोस्ः गगन थापा


७ जेठ, काठमाडाैं ।  नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वदेशी उत्पादनको प्रोत्साहन गर्ने नीति बनाउँछु भन्ने सरकारले आफ्नो नीतिको लाज राख्नु पर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्वदेशमै निर्मित विद्युतीय सवारी साधनयात्रीको दर्ता प्रक्रियामा फेरि समस्या आएको बताए । उनले स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित गर्न नहुने बताए ।

उनले भने, स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।

उनले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भएपनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको भन्दै यसको मारमा जनता परेको बताए ।

सांसद थापाले भने ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।’

उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने भन्दै यो विषय उद्यमीसँग मात्र नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:२८