११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

राजनीतिक दलले उन्नत आलोचनात्मक चेत भएकालाई प्राज्ञ बनाउन चाहँदैनन्ः वरिष्ठ साहित्यकार श्यामल


वरिष्ठ साहित्यकार श्यामल नेपाली साहित्यमा विचार र कलाको सुन्दर सन्तुलन मिलाएर लेख्ने र दुवै पक्षलाई मिहीन रूपमा प्रयोग गर्न सक्ने प्रतिभा हुन् । पत्रकारिता क्षेत्रमा पनि साढे चार दशक काम गरेका र राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष समेत रहिसकेका कर्णाली प्रदेश, दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका १ का हरिहर अधिकारी साहित्यमा ‘श्यामल’ नामले सुपरिचित छन् । हालै उनीसँग दैनिकीका लागि प्रधानसम्पादक माधवप्रसाद तिवारीले केही प्रश्न गरेका छन । प्रस्तुत छ उक्त प्रश्नोत्तरको सम्पादित विवरणः

राससको चार वर्षे कार्यकारी अध्यक्ष पदको जिम्मेवारीबाट विदा हुनुभएको छ । केही फुर्सद पाइयो होला, अब फेरि साहित्य यात्रामा फर्किँदा कस्तो महसुस भइरहेको छ ?

मलाई त्यो काम पनि साहित्यले परिपूर्ण थियो जस्तो लाग्छ । किनकि मैले त्यहाँ रहँदा कामका सन्दर्भमा र त्यहाँभित्रका जति साथीहरु भेटेँ, उनीहरु कुनै न कुनै रुपमा साहित्यका बारेमा चिन्ता गर्नेहरु थिए । यो पत्रकारिताको मूल काम गर्ने थलो हो । हामीले राससमा साहित्यलाई महत्व दिने भन्ने प्रसङ्ग धेरै आउँदैन थियो । राससले राजनीतिक र सामाजिक जस्ता विविध कुराहरु समेट्नु पर्ने हुन्छ ।

त्यहाँबाट निवृत्त भएपछि मैले साहित्यलाई बढी समय दिन थालेको छु । यस बीचमा विगतमा लेखिएका फुटकर रचनाहरू संकलन गर्न थालेको छु । कतिपय त मेरै कविताहरुलाई अंग्रेजीमा अनुवाद गर्न थालेँ । अरुले गरेका अनुवादलाई पनि संकलन गरें । मलाई लाग्छ, अब ती पुस्तकहरु आउलान् ।
साहित्यकारहरुलाई अनौपचारिक रुपमा हिँडिराख्नुपर्छ ।

तपाईँलाई जे होस्, चार वर्षको राजनीतिक नियुक्तिको जिम्मेवारीले साहित्यमा फर्कँदाको फरक अनुभूति त भयो होला नि ?

म साहित्य वा अरु कुनै पनि कलालाई जागिरसँग तुलना गर्दिनँ । तुलना गरेर हेर्न पनि चाहन्नँ । साहित्य भनेको कला रचना हो । रचना प्रक्रियाबाट गुज्रिदै गर्दा तपाईँ जहाँ जानुहुन्छ, लेखनकै प्रक्रियाबाट गुज्रिरहनुभएको हुन्छ । जस्तै, एउटा पत्रकारले विविध घटनाबाट उसले विविध कुराहरु देख्छ । पत्रकारको निमित्त समाचारहरु हरेक घरमा छन् । हरेक गाउँमा छन् । हरेक बाटो र गोरेटोहरुमा छन् । त्यस्तै साहित्यकारका निमित्त उसको हस्ताक्षरको विधा, जेमा ऊ काम गर्न सक्छ, उसका लागि जहाँ पनि साहित्य छ । अथवा कन्टेन्टहरु छन् । अथवा तपाईँले सोच्ने ठाउँहरु त्यसमा छन् । त्यसकारण मलाई साहित्य भनेको भिन्दै केही कुरा हो भन्ने कहिल्यै लागेन ।

अहिले म लेखेका जम्मै जतिलाई संकलित गर्दैछु । त्यसले मलाई पाठकहरुसँग अलि राम्रोसँग पुनःस्थापित गर्ला भन्ने लाग्छ । मैले आठ वर्षभन्दा अगाडिदेखि एउटा उपन्यास लेख्ने भनेको थिएँ । तर अचानक राजनीतिक परिस्थिति यस्तो बन्यो कि जुन विषयमाथि मैले लेखेको थिएँ, तिनीहरु नै सत्ता र शक्तिमा हावी भएर आए । त्यस कथित जनयुद्धले नेपाली समाजलाई एक प्रकारले हल्लाएको थियो । सकारात्मक वा नकरात्मक जुन नजरले हेर्नुस्, त्यसले हाम्रो समाजलाई तरंगित तुल्याएको थियो । हाम्रा सम्बन्धहरू, तपाईँका र मेरा सम्बन्धहरू अप्रत्यासित रुपमा फेरिदिएको थियो । राज्य र नागरिक बीचको सम्बन्ध, नागरिक र नागरिकका बीचको सम्बन्ध, पति र पत्नी बीचका सम्बन्ध, बाउ र छोराको बिचका सम्बन्धहरूमा समेत एक्कासी परिवर्तन आएको थियो ।

धेरै मानिसहरु मरेका थिए । धेरै विस्थापित भएका थिए । अनन्त पीडाहरू थपिएका थिए । नेपाली समाजले एउटा भिन्नै परिस्थितिको सामना गर्नुपरेको महसुस त गरेको थियो । भू–सतहमा एउटा हलचल आएको थियो तर त्यस हलचलले नेपाली समाजलाई कता पु¥याउने हो त्यो स्पष्ट थिएन । त्यो स्पष्ट नहँुदा नहँुदै तिनीहरु नै राज्यमा आइपुगे । यति हुँदाहुँदै पनि मैले उपन्यासका लागि जुन पचास हजार भन्दा बढी शब्दहरु लेखेको थिएँ । अब तिनै चरित्रहरुमा अनौठो अन्तर आयो । त्यसकारण केही अध्याय फेरि पुनर्गठन गर्नुप¥यो ।

अहिले तपाईँहरु देख्नुहुन्छ, ती मानिसहरु कति पतनोन्मुख दिशामा छन् १ कति पतित भइसके, कति अर्को दलमा गएका छन् । कति निष्कृय भएका छन् । केही लोकेन्द्र विष्टहरु खेतीपातीमा लागेका छन् । त्यसकारण नेपालमा गरेँ भनिएको क्रान्तिको अवस्था बिग्रँदो अवस्थामा र भत्किँदो अवस्थामा देखिन्छ । त्यसकारण क्रान्तिलाई पुनः परिभाषित गर्नुपर्ने अवस्था पनि छ । नेपालको वाम आन्दोलनको पुनः समीक्षा गर्ने अवस्थामा हरेक चरित्रहरुलाई मैले पुनः हेर्नुपर्ने भएको हुनाले फेरि त्यसलाई अलिकति स्पर्श (टच) गर्दैछु ।

तीसको दशकमा मैले केही कथाहरु लेखेको थिएँ, बाह्र–पन्ध्र वटा । जो, खासमा त्यतिबेला चर्चामा थिए । त्यो कुन कुन पत्रिकामा थिए भनेर खोज्ने कामहरू भइरहेको छ । त्यसबाट एउटा कथा संग्रह पनि बन्छ । किनभने मानिसमा श्यामलले कथा पनि लेख्थ्यो र भन्ने थियो । मेरा कतिपय साथीहरुलाई म कथा लेख्थेँ भन्ने थाहा थियो तर कतिपय साथीहरुलाई म कथा लेख्थेँ र राम्रो कथा लेख्थेँ भन्ने थाहा थिएन । सकेसम्म त्यस समयका कथाहरु पनि म संकलन गर्दै छु ।

मैले लेखेर विभिन्न पत्रपत्रिकामा छापिएका खास खास कविताहरुको भिन्न पुस्तक बनाउने सोच राखेको छु । चार वटा विधामा चार वटा पुस्तकहरु आउन सक्ने सम्भावना छ ।

तपाईँ कर्णालीको दैलेखको त्यो ठाउँबाट काठमाडौँसम्म कसरी आइपुग्नु भयो ? जुन अभिलाषा बोकेर आउनुभएको थियो, त्यो पूरा भएको छ ?

यसले मलाई बेला–बेलामा एक प्रकारले विस्मित तुल्याउँछ । म दैलेखबाट स्नातक पढ्न आउँदा र त्रिचन्द्र कलेजमा भर्ना हुँदा नेपालगन्ज हुँदै भारतको बाटो लखनउ भएर, गोरखपुर भएर आउनुपथ्र्याे । किनभने हाम्रा आन्तरिक स्थल यातायातका साधनहरु अहिले जत्ति थिएनन् । सुर्खेतबाट कि त जहाजबाट आउनुपथ्र्यो (त्यो बडो दुर्लभ थियो) । आम जनताको निमित्त अत्यन्त दुर्लभ थियो । जहाजमा आउन नसके दैलेखबाट पाँच दिन लगाएर नेपालगन्ज आउनुपथ्र्यो । नेपालगन्जबाट रुपैडिया आउनुहुन्छ । रुपैडियाबाट तपाईँ छोटी गज (सर्ट गेज ) रेलवे हुँदै आउनुहुन्छ । नत्र बडी गेजवाला (ब्रोड गेज) रेल समात्न लखनौ पुग्नुपर्छ र त्यसपछि गोरखपुर आउनुपर्छ । गोरखपुरबाट थोत्रा बसमा सुनौली आउनुपर्छ । सुनौलीबाट महाथोत्रा बसमा पोखरा हुँदै काठमाडौं आउनुपर्छ । सात÷आठ दिन त न्यूनतम लाग्थ्यो । त्यस अवस्थामा आउँदा म अलि परिपक्व भएको थिएँ । यद्यपि मेरो उमेर त्यति परिपक्व थिएनँ । भारतको बाटो हुँदै आउँदा नेपाली राजनीतिमा अलिकति चासो राखेको, माक्र्सवादतर्फ अलि आकर्षित भएका कारणले जीवनमा संघर्षको कारण र अर्थ के हो र कतिसम्म जान सकिन्छ भन्ने कुरामा म सचेत भएको हुनाले मैले दुःख र कष्ट गर्दै काठमाडौँ आउनु परेको हो । यहाँ आइसकेपछि मैले आफूलाई कला, पत्रकारिता, पर्यटन, साहित्य र पठनपाठन सबैमा मैले काम गरेँ । त्यसरी सर्वाइवलका लागि मात्र पनि मैले बहुविध ठाउँमा काम गर्नुप¥यो ।

म पनि अलिअलि महत्वाकांक्षी रहेछु । मेरै समयका मेरा साथीहरु र मेरै हैसियतका मान्छेहरु आज पनि भिरमा लडेर मर्दैछन् । कोही गाई वस्तु चराउँदैछन् । कोही कामका लागि अझै भारत जाँदैछन् । कोही म खाडी मुलुकमा छन् । म तपनईंको स्टुडियोमा बसेर अन्तर्वार्ता दिँदै छु । त्यसकाण म अलिकति महत्वाकांक्षी नै रहेछु र केही हदसम्म आफ्नो लक्ष्यतिर लागिरहने मान्छे रहेछु भन्ने अहिले बोध हुन्छ ।

तपाईँ आफ्नो जीवनमा बहुआयामिक काममा सफल हुनुभएको देखिन्छ । आफ्नो जीवनलाई आफैँले फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ?

तपाईँले समीक्षा भन्नुभयो समीक्षा कतिबेला र कुन समयमा गर्ने भन्ने हुन्छ । समीक्षा भन्ने कुरा निर्मम ढंगले गरिनुपर्छ । त्यसका आफ्ना पारिस्थितिहरु हुन्छन् । म जुन परिस्थितिबाट आएँ, जसरी मैले आफूलाई स्थापित गर्ने प्रयास गरेँ, मेरो विचारमा त्यो अत्यन्त उज्ज्वल काम थियो । मैले भन्नुपर्दा तपाईँले यसलाई सराहनीय नै भन्नुपर्छ । यसलाई प्रशंसा गर्नुपर्छ भन्छु । भन्ने हो भने मेरै बेलामा केही मान्छेहरु मभन्दा बढी महत्वाकांक्षी थिए । हिजो म भन्दा धेरै ठुलो स्थानमा पुगे । मन्त्री भए । मेरै समयका साथीहरु प्रधानमन्त्रीसम्म भए । ठूला ठूला प्रशासक भए । विदेश गए । तीमध्ये केहीले नेपालमै बसेर पनि अलि अलि दलाली गरेर कम्तीमा दश करोड र बढीमा अरबसम्मको जायजेथा बटुले । त्यसरी हेर्ने हो भने म बिल्कुल सन्तुष्ट हुने ठाउँ छैन । किनभने मैले सम्पत्ति जोड्ने काम गरिनँ । तर पनि मैले छोराछोरीलाई पढाएँ । राम्रो शिक्षादीक्षा दिएँ । मैले मेरी श्रीमतीलाई भोको राखेको छैन । आफू पनि चाहेर मात्र भोको बसेँ होला । नत्र भोको बसेको छैन । एउटा व्यक्तिको पनि इतिहास हुन्छ । एउटा समाजको इतिहास जस्तै । मेरो व्यक्तिगत इतिहास तपाईँले हेर्नुभयो भने असफल भन्न मिल्दैन । तर उदात्त महत्वकांक्षाले मुलुकलाई पनि पछाडि छाड्ने गरी म हिँड्न चाहन्नथिएँ । त्यसकारण म जुन ठाउँमा छु । त्यस ठाउँमा म एकदम ठीक छु ।

म आफ्नो मर्यादा होस् भन्नेमा विश्वास गर्छु, यसकारण म सबैको मर्यादा गर्छु । म एकदमै सन्तुष्ट छु । तर लेखाइमा सन्तुष्ट भयो भने हामी अगाडि पुग्दैनौँ । राजनीतिक यात्रामा तपाईँ अगाडि पुग्नुभयो भने र तपाईँ सन्तुष्ट हुनुभयो भने तपाईँ मार्गदर्शक बन्नुहुन्छ । त्यसकारणले तपार्इँ पूर्ण तरिकाले सन्तुष्ट हुन मिल्दैन । तपाईँले निरन्तर अगाडि बढिरहने काम गर्नुभयो भने मात्र तपार्इँ विकासको मार्ग पहिल्याउन सक्नुहुन्छ । यस अर्थमा म सन्तुष्ट छैन । किनभने एउटा लेखक सन्तुष्ट हुन सक्दैन । पूर्ण सन्तुष्ट हुन सक्दैन । उसले निरन्तर आफुलाई नवीकरण गरिरहनुपर्छ । खास गरेर माक्र्सवादमा चासो राख्ने भएकाले मैले राजनीति र समाजलाई एकै साथ हेरिरहेको छु । लेखिरहेको छु । राजनीतिक दलहरू सही दिशा आउन् भनेर पनि म आफ्नो तर्फबाट सकेसम्म योगदान गरिरहेको छु । तर म बिल्कुल सन्तुष्ट छैन ।

श्यामल भन्ने बित्तिकै हामी एक कवि सम्झिन्छौँ । कवि श्यामल बन्नमा कस्ता तत्वहरुको भूमिका रहेको छ ?

मलाई मेरो गाउँले साहित्यतिर धकेल्यो । मलाई मेरो परिवारले साहित्यतिर धकेल्यो । दैलेख, यस्तो ठाउँ हो, जहाँ लोक संस्कृति अत्यन्त उन्नत र समृद्ध छ । त्यहाँ मान्छेहरु सामान्य वार्तालापलाई पनि कवितामय बनाउँछन् । कवितामा कुरा गर्छन् । शिक्षक हुँदासम्म म त्यहीँ थिएँ । त्यसले मलाई कवितातर्फ आकर्षित ग¥यो । दोस्रो, मेरो घर सुपठित घर हो । म आठ पुस्तादेखि सुपठित पुस्तामा पर्छु । एक प्रख्यात परिवारको सुशिक्षित ज्योतिष पण्डित परिवारको भएको हुनाले पनि मैले त्यो लय समातेँ । मैले महाभारतको ग्रन्थमा प्रवेश गर्ने मौका पाएँ । मैले सानैमा वाल्मिकी, तुलसीदास र भानुभक्तले लेखेका रामायणहरु समाएँ । मैले माधव घिमिरेका गीत र कविताहरु पनि पढेँ । मलाई त्यस लयतर्फ आकर्षित गर्ने भनेको समाज थियो । पछि आएर, जीवनको कठोरताले मलाई गद्यतिर आकर्षित ग¥यो । त्यसकारणले कवितामा नअटाएका कतिपय कुराहरु मेरा कथामा पात्र भएर आए । निबन्धहरुमा आए । यसरी मैले आफूलाई आफ्नो परिवेश र परिस्थिति सँगसँगै कवितामा अभिव्यक्त गर्दै आएँ । कथा, टिप्पणी, राजीतिक लेख र कलात्मक अभिव्यक्तिमा जहिले पनि उभिरहेँ । अहिले पनि मेरो प्राथमिकता त्यही नै हो ।

तपाईँ थोरै कविता लेखेर पनि स्थापित हुनुभएको छ । तपाईँ बजारमा बढी सुनिनुहुन्छ, पढिनुहुन्छ र तपाईँको लेखनबारे चर्चा हुन्छ । यो कसरी सम्भव भयो ?

तपाईँले बडो रोचक कुरा गर्नुभयो । तपाईँको पहिलो सर्त भनेको तपाईँ कति संवेदनशील हुनुहुन्छ, तपाईँको हुर्काइ कस्तो छ र कस्तो वातावरणमा तपाईं हुनुहुन्छ त्यहींबाट तपाईंको रुचिको विधा र त्यसलाई अघि बढाउने लगनशीलता सुरु हुन्छ । अर्को भनेको, तपाईँको छनोट के हो ? तपाईँले आफूलाई कसरी बनाउनुभयो भन्ने कुराबाट आउँछ । धेरै लेख्दैमा राम्रो हुन्छ भन्ने कुरा मिथ्या हो । त्यो सही होइन । जस्तै भीमनिधि तिवारीले धेरै पुस्तक लेख्नुभएको छ । गोपालप्रसाद रिमालले जम्मा दुई–तीन ओटा पुस्तक लेख्नुभएको छ । गोपालप्रसाद रिमालका कतिपय कविता हरफहरू अहिले पनि म भन्न सक्छु । तिवारीका ४०–५० ओटा पुस्तकमा सामाजिक कहानी –भाग एक, दुई, तीन इत्यादिबाहेक म केही सम्झन्नँ । मैले उहाँलाई तिरस्कार गर्न खोजेको होइन, उहाँको आफ्नै महत्व छ तर यथार्थ यही हो ।

तपाईँले आफ्नो समाज र समग्र मानव जगतलाई कसरी हेर्नुहुन्छ ? दुनियाँलाई हेर्ने तपाईँको दृष्टिकोेण के हो ? हो, त्यसै दृष्टिकोणले लेखनलाई प्रभावित गर्छ । मलाई लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ र गोपालप्रसाद रिमालको स्कुलिङले आकर्षित गरेको हुनाले थोरै र राम्रो लेख्नुपर्छ, धेरै लेखेर मात्र हुन्न भन्ने निस्कर्षमा पु¥याएको हो । थोरैमा राम्रो लेख्नुभयो भने त्यो गुणयुक्त हुन्छ । थोरै र नराम्रो लेख्दा केही लाभ हुँदैन । धेरै र राम्रो लेख्न सक्नुभयो भने त्यो उत्तम कुरा हो । तर धेरै र राम्रो लेख्नु निकै कम सम्भव छ । यस मामिलामा देवकोटाभन्दा माथि रिमालजी हुनुहुन्छ । यसै दृष्टिले त देवकोटाभन्दा माथि माधवप्रसाद घिमिरे पनि देखिनुहुन्छ । देवकोटामा हामी धेरै कमजोरीहरु पाउँछौँ । परिष्कारतर्फ नलाग्ने र वेगवान गतिले लेखिरहने प्रवृत्तिले गर्दा देवकोटाजीका कवितामा कमजोरी रहन गएका हुन् भन्छन् विज्ञहरु । त्यसकारण मैले आफूले धेरै पढेँ । धेरै अध्ययन गर्ने कोशिश गरेँ । अरुको नपढी म कहाँ छु भन्ने थाहा हुँदैन । मैले के लेखेको छु भन्ने थाहा हुँदैन । मलाई लाग्छ, मेरो अध्ययन, मेरो छनोट गर्ने तरिकाले थोरै लेख्ने तर बढी गुणात्मक र भिन्न लेख्नेतिर मलाई लग्यो होला ।

कवितालाई बुझ्ने कसरी र बुझाउने चाहीँ कसरी हो त ? कवितालाई बुझ्ने तत्वहरुबारे भनिदिनुस् न ।

पहिलो कुरा, कविता र लय एउटै हुँदैनन् । श्लोक, कविता, लय, मन्त्र र ऋचा यी सबै फरक फरक छन् । यिनका सन्दर्भहरु पनि फरक छन् । अर्थहरु पनि फरक छन् । यिनको रचना प्रक्रिया पनि फरक फरक छ । त्यसैले लय हाल्दैमा कविता बन्दैन । तपाईँको छनोटको पाटो के हो ? तपाईँ व्यक्तिको कुन गति वा चरित्र अथवा समाजको कुन अन्तर्यलाई लिएर लेख्न चाहनुहुन्छ । त्यो अरुभन्दा विशेष ढंगले फरक छ कि छैन ? त्यो अझै त्यसरी अभिव्यक्त नभएको हो कि होइन ? तपाईँले छुने बित्तिकै फलामलाई सुन बनाउने त्यो पारसमय क्षमता तपाईँसँग छ कि छैन ? त्यसका आधारमा तपाईंका रचना वा कवितालाई हेर्नुपर्ने हुन्छ । त्यसकारण एउटा राम्रो कविले कविता यहाँ छ भनेर थाहा पाउँछ । पदार्थका रुपमा सुन हुँदैमा त्यो गहना वा आभुषण बन्दैन । सुनारले त्यसलाई बनाएको हुन्छ । त्यसलाई शिल्प भनिन्छ । तर कवितामा शिल्प मात्र पर्याप्त हुँदैन । शिल्प एउटा पक्ष मात्र हो । कवितामा अनुभूतिको तीब्रता चाहिन्छ । जस्तै, महाकवि देवकोटाको ‘पागल’ भन्ने कविता तपाईँले पढ्नुभयो भने यसो हेर्दा कविता नै होइन जस्तो लाग्छ । तर अनुभूतिको एउटा यस्तो बेग छ, यस्तो तिव्रता छ, जसले कवितालाई उच्च स्तरको, उच्च कोटीको कविता बनाइरहेको हुन्छ । रिमालको ‘आमाको सपना’ कवितामा भावनाको तरंगले त्यसलाई उच्च कोटीको कविता बनाइदिएको छ । देख्न त सबैकी आमाले सपना देख्छिन् । किन तपाइकी आमाले देखेको सपना ‘आमाको सपना‘ भएन ? किन श्यामलले त्यस्तो लेखेन ? कलम चलाउने अनेकौं थिए । गोपालप्रसाद रिमाल भन्ने मान्छेले नै त्यो सपना कसरी देखे ? भन्दा उहाँको नियतमा जानुपर्छ । उहाँ नेपाली राजनीति र समाजलाई बदल्न चाहनुहुन्थ्यो । उहाँले नेपाली समाजलाई जसरी बुझ्ने प्रयत्न गर्नुभयो, त्यसको चुडान्त हो ‘आमाको सपना’ । त्यो सपना पूरा हुन सजिलो छैन । त्यो क्रान्तिको सपना थियो । के तपाईँ हाम्रा आमाहरुले क्रान्तिको सपना देखे ? मलाई लाग्छ, धेरैका आमाहरु क्रान्तिको सपना देख्दैनन् । आफ्नो छोराछोरी मात्र देख्छन् । रिमालले एउटा यस्तो आमाको सिर्जना गरे, जुन सबैकी आमा हुन सक्छिन् । कविता भनेको त्यो हो । त्यत्रो लामो कविता पढ्दा तपाईँ जब ‘तर त्यो तिमी नै होउला भन्ने मेरो यौवनभरिको सपना थियो’ भन्ने पङ्तिमा पुग्नुहुन्छ, अनि त्यहाँ कविता पाउनुहुन्छ । त्योभन्दा माथिका हरफहरूमा कविता भइसकेको थिएन । जब ‘आमा त्यो आउँछ हो बा त्यो आउँछ । त्यो कम्मरमा खुकुरी लट्काउँदै आउँछ ।’ भन्दासम्म कविताले मारक क्षमता प्राप्त गरिहालेको छैन । ‘हेर त्यो हुरी भएर आउनेछ । तिमी पात भएर पछ्याउने छौ ।’ भन्दाखेरि त्यहाँ कविता भएर आयो । त्यसकारण कविता खोज्ने तपाईँको विशेष दृष्टि हुनुपर्छ । हुन चाहिं त्यो दृष्टि धेरै मानिसमा हुन्छ । तर कसैमा धेरै हुन्छ, कसैमा कम हुन्छ ।

नयाँ पुस्ताका धेरै कविहरु जन्मिएका छन् । ती कविहरूलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

यस पुस्तामा राजनीतिक सजगता धेरै आयो । तर दुःखपूर्वक भन्नुपर्छ, राजनीतिक सजगताले नेपाली समाजलाई विखण्डन गर्ने काम पनि गरेको छ । साहित्यमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । साहित्यले त समाजलाई जोड्छ, विभाजन गर्दैन । समाजलाई विभक्त गर्ने काम साहित्यको होइन । साहित्यको काम समाजलाई जोड्ने हो । हामी दुश्मन छौं भने पनि कलाले हामीलाई जोड्छ । त्यस रूपमा नयाँ प्रतिभाहरू आउनुपर्छ । त्यो सम्भावना पनि छ । केही उज्याला नक्षत्रहरु हाम्रो आकाशमा देखा परेका छन् । जस्तो, विनोदविक्रम केसीको ‘पहिरो’ भन्ने कविता वा पहिचानवादीकै कुरा गर्ने हो भने केशव सिलवालको ‘चिबेचरा’ वा अभय श्रेष्ठको ‘सन्देह’ भन्ने कविता हेर्नुभयो भने केही भइरहेको जस्तो देख्नुहुन्छ ।

केही कविहरू नश्लतिर जानुभएको छ । केहीलाई कविता भनेको यसरी पनि हुन्छ भन्ने भ्रम परेर पनि त्यसरी गर्नुभएको होला । तर कालान्तरमा उहाँहरुले कलाको शरण लिनैपर्छ । कलामा आउनुपर्छ । त्यसरी आउँदा ढिलो पनि हुन्छ । कविताको प्रभाव त टाढासम्म पुग्नुपर्छ । भित्रसम्म पुग्नुपर्छ । भित्र भनेको के हो ? के मान्छेको मनको गहिराइलाई नाप्न सकिन्छ ? नाप्न सकिँदैन । मान्छेको बौद्धिक गहिराइलाई अमिनको फित्ताले नाप्न सकिन्छ जमिन नापेको जस्तो ? सकिँदैन । त्यसकारण तपाईँको बौद्धिक चापले मात्रै हेर्न सकिन्छ । त्यो कलाको गहिराइ र दृष्टिको गहिराइसँग सम्बन्धित छ ।

साहित्य, भाषा र संस्कृतिको प्रवद्र्धन गर्ने सन्दर्भमा राज्य र मातहतका निकायको भूमिका कस्तो पाउनुभएको छ ? जस्तो, नेपाल प्रज्ञा प्रतिष्ठानले केही काम गरिरहेको छ । के तिनका कामहरू पर्याप्त छन् ?

विकास कहिले पनि पर्याप्त हुँदैन । मोडेलहरु फेरिन्छन् । त्यसका आधारहरु फेरिन्छन् । मलाई लाग्छ, पञ्चायतकालमा जति गुणात्मक कामहरु भएको थियो, बहुदल आएपछि त्यसमा ह्रास आएको छ । नकारात्मक ढंगले ह्रास आएको छ । नेपालका राजनीतिक दलहरु दास उत्पादनका कारखाना भएका छन् । यिनीहरुले राम्रा आलोचनात्मक दृष्टिकोण भएका नागरिकको उत्पादन गर्दैनन् । अथवा त्यस्ता कार्यकर्ता उत्पादन गर्दैनन् । नेता विशेषले भनेको कुरो मात्र गर्ने रोबोट उत्पादन गर्छन् । त्यस्तो मानिस प्रज्ञावान हुन सक्दैन । त्यस्ता मानिसलाई प्रज्ञामा लगियो भने प्रज्ञामा अनुचित काम गर्न थाल्छ । तपाईँले अहिले बजारमा हल्ला सुन्नुभएको छ । त्यसमा नेपाली भन्ने शब्द नै काटेर फाल्देको छ रे १ के बुझिन्छ भने नेपाली भाषाप्रति रूष्ट व्यक्तिहरु अहिलेको टिममा छन् । जुन उपयुक्त होइन । नेपालका सबै भाषाभाषीले हुर्कन पाउनुपर्छ । राज्यबाट समर्थन पाउनुपर्छ । तर त्यसको नाममा राज्यको कुनै एउटा भाषालाई त्यसको तेजोवध हुने गरेर यो वा त्यो निर्णय गर्न मिल्दैन । यहीँबाट तपाईले बुझ्नु हुन्छ, बहुत कम प्रज्ञावान मानिसहरुलाई प्रज्ञामा लगिएको छ । त्यसैले प्रज्ञाबारे पुनः विचार गर्नुपर्छ । प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्न सक्छ । राम्रो गरेमा एउटै भए पनि पुग्छ । तीन तीन वटा प्रज्ञा प्रतिष्ठानको जरुरी छ भन्ने पनि मलाई लाग्दैन । मैले तत्कालीन मन्त्रीहरुसँग छलफल गरेँ । उहाँहरुसँग स्पष्ट रुपमा भनँे तपार्इँहरु गलत गर्दै हुनुहुन्छ । एउटा बलियो र राम्रो बजेट भएको, राज्यले बजेट दिएको, त्यस्तो खालको प्रज्ञा प्रतिष्ठान बनाउनुस् र त्यसका विभिन्न विभागहरू बनाउनुस् । मजाले काम गर्न दिनुस् ।

नेपाल भूगोल वा जनसंख्याका आधारमा भारतको बिहार प्राप्तको तुलनामा पनि धेरै गुणा सानो छ । नेताहरु आफ्नो असमर्थता व्यक्त गर्नुहुन्छ । मैले भनेँ– असमर्थता व्यक्त गर्ने भए तपाईँ राज्यमा किन आउनु भयो ? त्यसकारण बोल्ड निर्णय लिनुपर्छ । यसका नियमहरु पनि बनाउनुपर्छ तर यसरी दलीय आधारमा पठाउने होइन । प्रज्ञावान मानिसहरुलाई उनीहरुको क्षमताका आधारमा छान्नुपर्छ । राज्यको स्पष्ट भाषिक र साँस्कृतिक नीति पनि हुनुपर्छ । प्रज्ञा प्रतिष्ठानसम्बन्धी नीति हुनुपर्छ, साहित्यसम्बन्धी नीति हुनुपर्छ । त्यो नीति नै छैन । छ भने पनि कामलाग्दो खालको नीति छैन । छ भने पनि समय अनुकूलको नीति छैन । म त्यहाँ भइन भन्ने कुरा होइन । मेरो व्यक्तिगत कुनै गुनासो छैन । तर ती व्यक्तिहरु के आधारमा त्यहाँ गएका हुन् भन्ने बारेमा म प्रश्न गर्न सक्छु । किनभने बाहिर धेरै क्षमतावान मानिसहरु छन् । वास्तविक प्राज्ञहरू प्रज्ञाको परिसरभन्दा बाहिर छन् ।

सन्दर्भ बदलौँ, नेकपा (एमाले)को सूर्य चिन्हसँग जोडेर तपाईँको चर्चा हुन्छ । त्यसमा तपाईँको साइनो के हो ?

म यसलाई ठूलो काम गरेँ भन्दिनँ । तर मैले मदन भण्डारी जस्तो प्रतिभाशाली राजनीतिज्ञ, एमालेको महासचिवजस्तो शक्तिशाली मानिस, लाई के कुरामा कन्भिन्स गरेँ (मनाएँ) भने तपाईँहरु हसिया हथौडामा नअल्झिनुस् । यो अन्तराष्ट्रिय झण्डाको चिन्ह हो । मौलिक झण्डा राख्नुस् र तपाईँ समाजवादी कार्यक्रम ल्याउनुस् भनेँ । सुनकोशी छापाखानामा रहेको ‘दृष्टि’ साप्ताहिकको कार्यालयमा भएको हामी दुई जना मात्र भएको त्यस छलफलमा उहाँले गहनतापूर्वक सोचेर त्यसबारे पार्टीका नेताहरूसँग कुरा गर्ने जवाफ दिनुभयो ।

मैले ‘सूर्य’ को आवश्यकताबारे सात वटा तर्कहरु दिएको थिएँ । छु । यसले क्रान्तिकारी, लाल र झापालीहरुको भावना र ध्येय सँग मेल खाने कुरा गरेको थिएँ । २०४३ सालमा पदमरत्न तुलाधरले उक्त चिन्ह प्रयोग गरेका पनि थिए । धर्मभीरूहरूले पूजा गर्ने चिन्ह समेत भएकाले नेपाली समाजमा स्थापित हुन सहज हुन्छ पनि भनेँ ।

अहिले हेर्नुस् त, नेपालमा सूर्यको झण्डा कति ठाउँमा टाँसिएको होला ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ । नेकपा विभाजन हुँदा सूर्य चिन्ह पाउनै लफडा भयो । माओवादीका अध्यक्ष प्रचण्डले समेत सूर्य हाम्रो हो भनेका थिए । म एमालेको मतदाता हो । एमालेले मलाई २०४८ सालमा सांसदको टिकट दिएर पठाएको थियो । मदन भण्डारीले आफै पठाउनुभएको थियो । म आफैले अस्वीकार गरेको हो । म महत्वाकांक्षी भएको भए त्यतिबेला सहजै मन्त्री हुन्थेँ हुँला । सञ्चार मन्त्रालय र शिक्षा मन्त्रालय मेरो लागि उपयुक्त पनि थियो । तर मैले निर्वाचन चिन्हका रुपमा एमालेको ‘सूयर्’ को श्रेय (के्रडिट) लिन चाहेर खोक्रो दावी गरेको होइन । मेरा साथीहरुले के भने भने यो कुरा तपाईँले सार्वजनिक गर्नुपर्छ । यसबारे पहिल्यै कुनै कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले श्यामलजीको प्रस्तावमा निर्वाचन चिन्ह बनाएको कुरा खोल्दिनुभयो । प्रेस चौतारी र साहित्य सन्ध्याका कार्यक्रममा पनि यी कुरा थाहा भए ।

नेपालमा वाम आन्दोलन एक ठाउँमा आउनुप¥यो, ध्रुवीकरण हुनुपर्यो, वामपन्थीहरु एक ठाउँमा हुनुपर्यो भनेर पटक पटक बेसुरका बाजाहरु बजाइन्छ । दश, बाह्र वटा टुक्रा भएर बस्नु भन्दा एकै ठाउँमा यस्ता पार्टीहरु आउनु ठिक हुन्छ भन्ने खालका तर्कहरु बढिी सुनिन्छ । यसमा तपाईँको धारणा के छ ?
मलाई दुःख लाग्छ नेपालमा वामपन्थी र कम्युनिष्ट भनिनेहरु विभाजित छन् । विश्वकै कम्युनिष्ट आन्दोलनमा हेर्नुभयो भने कम्युनिष्ट जति विभाजित शक्ति र घट्दो शक्ति अर्को छैन । किनभने यसका नवीनताहरु, यसका कार्यहरु, यसका सोचहरु र यसका कार्यक्रमका तहहरु विश्व पूँजीवादले, नवसाम्राज्यवादले वा नवउदारवादले खोसेर लगिसकेको छ ।

वामपन्थी अथवा कम्युनिष्ट के कारणले हुन्छ भन्दा उसका कार्यक्रमका आधारले हुन्छ । जनताको बहुदलीय जनवाद एमालेको सबैभन्दा ठूलो कार्यक्रम हो । तर मलाई बताइदिनुस् । नेत्रविक्रम चन्द्रजीको के कार्यक्रम छ ? मोहन वैद्यजीको के कार्यक्रम छ ? र आहुतिजीको त्यस्तो के कार्यक्रम छ ? विशिष्ट, फरक र नेपाली समाजलाई साच्चिकै संगठित गर्न सक्ने, एउटै पार्टीमा ल्याउन सक्ने त्यस्तो कोही छ भने मलाई भनिदिनुस् होइन भने यहाँ नयाँ नयाँ पार्टीहरु बन्दै जान्छन् । नेकपा बाँस्तोला पनि बन्छ । नेकपा बास्कोटा पनि बन्छ । बास्कोटा र बास्तोला छुटेर बन्यो भने तोलाकोटा पनि एउटा बन्छ । यसरी बन्दै गएकाहरुलाई तपाईँले भावुकतावश कम्युनिष्ट हुन् भनेर भन्नुभयो भने पार्टी निरन्तर विघटनतिर जान्छ । उनीहरुको कार्यक्रम मजदुर र किसानको हातबाट फुत्केर जान्छ । तस्कर, व्यापारी, बेइमान, शोषक, घुसखोर र अहिले मिटरब्याजी छन् नि, त्यस्ताको हातमा पुग्छ । के ठेगान नेपालका कम्युनिष्टको माथिल्लो तहमा तिनीहरु पुगेका छैनन् भनेर ? म ठान्छ,ु तिनीहरु माथि पुगिसके । तिनीहरुबाट पार्टीलाई जोगाउनुस् । एकीकरण गर्नु जरुरी छैन । यो स्वतः हुने प्रक्रिया हो । तपाईंले असल र बलियो वर्गाधार–जनाधारयुक्त पार्टी बनाउनुभयो भने बरालिएकाहरु, महत्वाकांक्षीहरु, भावुकताले थिल्थिलो भएकाहरु, भाँच्चिएर उछिट्टिएकाहरु सबै तपाईसंग मिल्न आउँछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार ०६:२९