१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँडको निर्णायक भूमिका रहेको खुलासा


२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडको नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णायक भूमिका रहेको खुलासा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुख्य विचौलियाहरूको वयान सम्पादन गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको विषयामा ध्यानाकर्षण गराएपछि बालकृष्ण खाँडको भूमिका निर्णायक रहेको विषय खुलासा भएको हो ।

विचौलियाको वयानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नी मञ्जु खाँडको संलग्नताको आरोपको वयान सम्पादन गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अन्तै मोडेको सूचना पाएपछि एमाले अध्यक्ष ओलीले बिहीबार प्रचण्डको ध्यानाकर्षण गराएका थिए । प्रहरीले कांग्रेस नेतृत्व र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ग्रिन सिग्नलमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि ओलीले प्रचण्डको खबरदारी गरेका थिए ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको नाम लिने सानु भण्डारी नामका बिचौलियाले वयानका क्रममा बालकृष्ण खाँड र मञ्जु खाँडको पनि नाम लिएका थिए । स्रोतका अनुसार बिहीबारको प्रचण्डसँगको भेटमा ओलीले भण्डारीको बयानको रेकर्डका विषयमा चासो लिएका थिए । त्यसपछि शुक्रबार पुनः भेट्ने भन्दै छुटिएका प्रधानमन्त्रीले व्यवस्ताको बाहना गर्दै भेटवार्ताको काम स्थगित गरेका छन ।

विचौलियाहरूसँग खाँडले करिब ५ करोड रूपैयाँ बुझेको स्रोतले जनाएको छ । विचाैलियाहरूले खाँड मार्फत उठेको केही रकम कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा अराजु राणा देउवासम्म पुर्याएको दाबी समेत गरेको महान्यायाधीवक्ता कार्यालय स्रोतले जनाएको छ ।

यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डे मार्फत खाँडले सबै काम गराएको बुझिएको छ । पाण्डे खाँडको नातेदार समेत रहेको कतिपयले दाबी गरिरहेका छन । यद्यपी उनीहरूको नाता प्रष्टसँग बाहिर सार्वजनिक भएको छैन । खाँडले पैसामा कुरा मिलेर सचिव पाण्डे नै मध्यस्तकर्ता बनेपछि भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गर्न अुनमति दिएका थिए । जुन परिपत्रले अहिले ठगिएका भनिएका नेपाली नागरिकहरू करोडौँ रूपैयाँ बुझाएर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान बाटो खोलेको थियो ।

यस प्रकरणमा अन्य गृहसचिवहरू समेत तानिने सम्भावना रहेको भए पनि अुनसन्धान अधिकृतहरूले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको कतिपयले आरोप लगाएका छन । यही प्रकरणमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिवदेखि एमाले सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परिसकेका छन ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १९:०६