६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

रोकिएको हुलाकी सडकको काम तत्काल नथाले कारवाही हुन्छः मन्त्री ज्वाला


२२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको बेतौना विराटनगर सडक खण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । विहीबार हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि सोको विरुद्धमा संघीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए ।

लगतै मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारवाही गर्न निर्देशन दिएका हुन् । झापा, मोरङ्ग, सुनसरी र सप्तरी गरि चार जिल्ला कार्यक्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किमी खण्डमा पाँच ठेक्का लगाई निर्माण कार्यलाई तीव्रता दिएको छ । जसमध्ये २० किमी कालोपत्रे भईसकेको छ ।

बेतौनादेखि विराटनगरसम्मको करिव १८ किलोमिटरमा सञ्चालित दुई ठेक्काको निर्माण कार्य करिव एक महिनादेखि ठप्प छ । निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए । एक महिनादेखि निर्माण कार्य रोकिएपछि आयोजनाको इटहरी कार्यालयले र निर्माण कार्य जारी राख्न निर्माण व्यावसायीलाई लिखित पत्राचार गरिसकेको छ ।

समयमा निर्माणको काम सक्नेगरी तत्काल काम नथाले निर्माण ब्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका शर्त बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:५९