१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडाैँका सबै विद्यालयको नाम र चिन्हमा एकरूपता ल्याउने निर्णय, यस्तो छ नयाँ व्यवस्था


१७ वैशाख, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले विद्यालयको नाम र चिन्हमा एकरूपमा ल्याउने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २  अनुसार विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउने निर्णय लिएको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

महानगरले यसको कार्यान्वयन नयाँका हकमा तुरून्तै लागू हुने र पुरानाका लागि एक वर्षको अबधि दिने निर्णय गरेको छ । महानगर प्रमुख शाहले नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दै नगर्ने माथि कडा कारबाही गर्ने संकेत समेत गरेका छन ।

महानगरका प्रमुख शाहले दिएको जानकारी अनुसार अब विद्यालयको चिन्ह र नामसम्बन्धी व्यवस्था यस्तो हुनेछ ।

६९. विद्यालयको चिन्ह : विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।
७०. विद्यालयको नामाकरण : (१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।

(२) कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्नेछ ।

तर यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ०८:२८