१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

निर्देशक रमेश कोइरालालाई प्रसिद्ध जनसेवाश्री विभूषण


२ वैशाख, काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्यारएका निर्देशक रमेश कोइरालालाई वैशाख १ अर्थात नयाँ वर्षको विशेष अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् ।

सो अवसरमा राष्ट्रको गौरव र जनताको हितमा काम गर्ने विभिन्न क्षेत्रका सात सय ४९ जना नागरिकलाई पदक, ट्रफी र विभूषण प्रदान गरिएको थियो । समारोहमा कला, साहित्य, खेलकुद र चलचित्र क्षेत्रका ४५ जना नागरिकलाई सम्मान गरिएको छ ।

भरतपुर चितवनका कोइरालाले डेढ दर्जनभन्दा बढी चलचित्र, लघु चलचित्र, मेघा टेलिफिल्ममा निर्देशकको रुपमा काम गरिसकेका छन् । यसअघि उनले शिक्षा क्षेत्रको नकारात्मक प्रवृत्तिको यथार्थपरक प्रस्तुति प्रस्तुत गर्दै ‘लिला’ र जातीय आधारमा दलित समुदायले छुवाछुत भोग्नुपरेको कथामा चलचित्र ‘निरमाया’ निर्देशन गरेका थिए ।

निर्देशक कोइराला नेपाली चलचित्र उद्योगमा दक्ष र सफल निर्देशकका रुपमा परिचित छन् । नेपाल साँस्कृतिक संघको केन्द्रीय कार्यसमितिका सदस्य रहेका कोइराला विगत २५ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।

उनको पहिलो काम घनश्याम खतिवडाद्वारा निर्देशित संस्कृत भाषाको टेलिफिल्म राग विरागम थियो, जसमा कोइरालाले सहायक निर्देशकको रूपमा काम गरेका थिए । राष्ट्रपति पौडेलबाट प्रसिद्ध जनसेवाश्री विभूषणबाट सम्मानित भएका कोइरालाले यसबाट आफूमा काम र गौरवप्रति थप उत्साहित भएको बताए ।

चलचित्र क्षेत्रबाट राष्ट्रिय पुरस्कार पाउने उनी चितवन जिल्लाबाट पहिलो व्यक्ति समेत हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, उपसभामुखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार ०७:५५