१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भाजपा विदेश विभाग प्रमुख काठमाडौं आउँदै, आजै उच्चस्तरीय भेटघाट हुने


४ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाइवालेले आज(सोमवार) उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

सुदुरपश्चिम प्रदेशस्थित अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन आएका चौथाइवाले अहिले धनगढीमा छन् । उनी सोमवार नै काठमाडौं आउँदैछन् । काठमाडौंमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा आलीलाई भेट गर्ने कार्यक्रम छ ।

चौथाइवाले शनिवार स्थलमार्ग हुँदै धनगढी आएका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालको भारत भ्रमणका सम्वन्धमा छलफल हुनेछ । प्रधानमन्त्री दाहाल बैशाखको तेस्रो साता भारत भ्रमणको तयारीमा छन् । भारत भ्रमण तयारीकै लागि उनले आइतवार परराष्ट्र मन्त्रीमा काँग्रेस नेता एनपी साउदलाई नियुक्त गरेका थिए । परराष्ट्र मन्त्री साउदले आइतवार नै प्रधानमन्त्री दाहालको भारत भ्रमण दु्रतगतिमा तयारी थालिने बताएका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार भारतको रक्सौलदेखि काठमाडौंसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:२६