१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चितवनमा भ्रम हट्दै गएकाले जित एमालेकाे हुनेमा विश्वस्त छु: याेगेश भट्टराई


३ वैशाख, चितवन । नेकपा(एमाले) का सचिव याेगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेकाे पक्षमा मत जाहेर गर्ने बिश्वास ब्यक्त गरेका छन ।भरतपुर-१२ मा पार्टीका स्थानीय कार्यकर्ताले शनिवार गरेको चुनावी घरदैलाेमा सहभागी हुदैं सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाकाे भ्रम पैदा भएको र त्याे दिनानुदिन हट्दै गएको बताए ।

“याे निर्वाचन क्षेत्र एमालेकाे राम्रो प्रभाव भएको ठाउँ हाे, बिगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाँए । एमालेकाे जित हुनेमा बिश्वस्त छु । ” कार्यकर्ता माझ भट्टराईले भने ।

जनतामा सुशासनकाे लाेकप्रिय नारा लगायर मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उनको भनाइ छ । ‘के के भन्थे, के के गरे, सबैले थाहा पाईसक्नुभयाे अब भ्रमकाे पर्दा उध्रिसकेकाे छ’ भट्टराईले भने ।

मतदाताकाे चाहाना बमाेजिम युवा र परिपक्व उमेदवारका रुपमा पार्टीले रामप्रसाद न्याैपानेलाई अघि सारेको उनले उल्लेख गरे । ‘रामजी यहाँकाे बिकासमा याेगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेकाे पुस्ताकाे भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हाे’  भट्टराईले भने ।

समृद्ध नेपाल निर्माण गर्ने ठाेस कार्ययाेजना सहित एमाले अघि बढेको बताउदै उनले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको बताए । जनचाहना अनुरुप समृद्धिकाे अभियान अघि बढाउन मुलुककाे नेतृत्व एमाले पार्टीबाट मात्रै संभव रहेकाे भट्टराइको टिप्पणी थियो ।

भरतपुर-१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्याैपानेकाे अगुवाइमा पाेखरेली टाेल, आनन्द टाेल, प्रेरणा टाेल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियाे । कमिटीले वडाका विभिन्न टाेलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शाेभा पण्डितले बताएकी छिन ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०८:५३