७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौलाकाली केबुलकार सञ्चालनमा, ५ मिनेटमै मन्दिर पुग्न सकिने


१ वैशाख, गैंडाकोट । नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबुलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजदेखि सेवा सुरू गरिएको मौलाकाली केबुलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।

आज बिहान ६ बजेदेखि केबुलकार सञ्चालनमा आएको हो। केबुलकारको बटम स्टेसनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए।

केबुलकारमार्फत् मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला छन्।हाल केबुलकारले दुईतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।

उनका अनुसार केबुलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरूका लागि रु २७५ को टिकट दर राखिएको छ। केबुलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरूको लागि नि:शुल्क सेवा दिने जनाएको छ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १६:१७