१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

उद्योग वाणिज्य महासंघको अध्यक्षमा डलर अर्बपति बन्दै गरेका चन्द्र ढकाल


३० चैत, काठमाडाैँ । डलर अर्बपति बन्दै गरेका नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधानको व्यवस्था अनुसार महाधिवेशनसँगै ढकाल महासंघको अध्यक्षमा निर्वाचित भएका हुन । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

ढकाल पहिलो पुस्ताका सफल व्यवसायी मानिन्छन । ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । करिब ४ दशकको यात्रामा ढकाल संघर्षपूर्ण बाटोहरू पार गर्दै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् ।

विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका थए । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढीलाई रोजगारी दिएकाे छ ।

ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाैँ श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् ।

औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १९:१५