१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रवि लामिछानेकाे कोर टिमलाई बुझाउन जनवरीमा दुई कराेड मागेको हुँः सांसद श्रेष्ठ


२९ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेकाे कोर टिमलाई बुझाउन जनवरीमा दुई कराेड मागेको स्वीकार गरेका छन । उनले जनवारीमा चन्दा मागेको कुरा अहिले सार्वजनिक भएको भन्दै आपत्ति जनाए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अहिले चुनावको मुखमा उक्त चन्दाको अडियो सार्वजनिक हुँदा समस्या भएको बताए । अडियो संवादको व्यहोरामा कुनै आपत्ति नजाइ श्रेष्ठले जनवरीको अडियो अहिले सार्वजनिक भएकोमामात्र दुःख प्रकट गरे ।

श्रेष्ठले उक्त अडियोबारे आफूले अदालतमा गएर क्लिन चिट लिएर आउने दाबी पनि गरे । अदालतमा सबै चाँजोपाँचो मिलाइसकेको शैलीमा प्रस्तुत भएका सांसद श्रेष्ठले धैर्य गरेर बसिदिन अनुरोध गर्दै चाँडै नै क्लिन चिट लिएर आउने बताए । उनले पार्टीले निलम्बन गरेकोमा भने खुशी प्रकट गरे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र श्रेष्ठबीचको अडियो संवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएपछि सभापति लामिछाने बुधबार चितवनबाट काठमाडौँ आइपुगेर आजै पार्टीको बैठक पनि गरेका छन । अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेका छन । लामिछानेको कोरटिमको रूपमा स्वकीय सचिव दीपक बोहरा, पत्नी निकिता पौडेल र पूर्वमन्त्री डोलप्रसाद अर्याल रहेको प्रसाईंले नै सार्वजनिक गरिसकेका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १७:५४