६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बजेटमा उद्योगीका सुझाव सङ्कलन


लुम्बिनी, २९ चैत । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०÷८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो । परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही उद्योग सङ्घको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

अन्तक्रियामा सहभागी उद्योगीले हालको खराब अर्थतन्त्र सुधारका लागि राज्य चनाखो हुनुपर्नेमा जोड दिँदै नीतिगत सुधार, भौतिक पूर्वाधार विस्तार र उद्योगीले व्यहोर्नु परेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ—आप्mना राय सुझाव पेस गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले उद्योगीका समस्या समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयमा सकारात्मक सुझाव दिन नेपाल उद्योग परिसङ्घ सक्रिय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको थियो । उहाँले उद्योगीले विशेषगरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उठान गर्नुभएका समस्यालाई लिपिबद्ध गरी उच्चस्तरीय बैठकमा प्रस्तुत गर्ने र उद्योगीको समस्या क्रमशः समाधान गर्दै जानेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसङ्घका अध्यक्ष एजाज आलम सङ्घका पूर्व अध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष, कृष्णप्रसाद पराजुली, उद्योगी रामप्रसाद बस्याल लगायतले विषयवस्तु उठान गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १३:०६