१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लगानीकर्ताहरुले धितोपत्र बोर्डका अध्यक्ष हमाललाई बुझाए १० बुँदे माग


२७ चैत, काठमाडाैं । पुँजीबजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई १० बुँदे माग बुझाएका छन् ।शेयर लगानीकर्ता संघहरुले आज सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्षहमाललाई १० बुँदे माग बुझाएका हुन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा बोर्ड अध्यक्ष हमाललाई १० बुँदे मागपत्र बुझाएका हुन्।

माग पत्रमा संघहरुले विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजारले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति लगानीकर्ताका संघ संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। साथै, लगानीकर्ताले माग पत्रमा लगानीकर्ताहरूको बढ्दो शेयर खरिद बिक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गर्नुपर्ने उल्लेख छ ।

यस्ता छन् लगानीकर्ताले गरेका मागहरुः

१. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस ।

२. लगानीकर्ताहरूको बढ्दो सेयर खरिद विक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस् ।

३. डि. पी. चार्ज रकम २५ रुपैयाँ कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा ५ रुपैयाँ कायम गरियोस् ।

४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३ प्रतिशत र अल्पकालको लागि ५ प्रतिशत पूँजीगत लाभकर कायम गरियोस् ।

५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटोभन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने ।

६. अप्सन ट्रेडिङ, फ्युचर मार्केट, इन्ट्रा डे मार्केट र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् ।

७. केवाईसी सुरु गरी भौतिक केवाईसीको अन्त्य गरियोस् ।

८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको मार्जिन लेन्डिङ्ग व्यवस्था अविलम्ब सुचारु गरियोस् ।

९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् ।

१०. नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १०० प्रतिशतनै कायम गर्न विशेष पहल गरियोस् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:४७