१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मिटरब्याज पीडितको अर्को समुहसँग वार्ता गर्न टोली गठन


२६ चैत, काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितको अर्को समितिसँग पनि वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उामाकान्त अधिकारी, कानून मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेश मैनाली रहेका छन् । वार्ता समितिका सदस्य तामाङले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन भएको र सम्भवतः आजै(आइतवार) वार्ता हुन सक्ने जानकारी दिए ।

उनले भने,‘मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन भएको छ । उहाँहरुलाई पनि वार्तामा आउन भनेका छौं । सुचनामा आए अनुसार उहाँहरु पनि वार्ता टोली गठनमा हुनुहुन्छ । सम्भवतः आजै उहाँहरु वार्ता गर्ने हाम्रो तयारी रहेको छ ।’

सरकारबाट वार्ताका लागि समिति गठन भएपछि आन्दोलनरत संघर्ष समितिले पनि वार्ता टोली गठनको तयारी थालेका छन् । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले सरकारसँग वार्ता गर्न समित गठन गर्ने तयारी भइरहेको बताए ।

उनले भने,‘हामीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको सुचना आएको छ । हामी पनि वार्तामा बस्ने राजी छौं । त्यसका लागि टोली गठनको तयारीमा हामी लागेका छौं । संयोजक भने तोकिसकिएको छैन । यसको टुंगो पनि आजै लाग्नेछ । त्यसलगतै हामी वार्तामा बस्नेछौं ।’

संघर्ष समिति २० चैतदेखि रत्नपार्कस्थित शान्ति बाटिकामा आन्दोलनरत छ । उनीहरु साहुकारले बनाएको जाली तमसुक नष्ट गर्नु पर्ने, मिटरब्याजसँग सम्वन्धित कानून तत्काल निर्माण गरिनु पर्ने लगायतका माग राख्दै आन्दोलनरत छन् । सरकारले १२ दिन पैदल हिँडेर आएको मिटरब्याजी पीडितको अर्को समुहसँग भने गत १९ चैतमै सहमति गरेको छ ।

सहमति अनुसार सरकारले मिटरब्याजको समस्या समाधान गर्न आयोग समेत गठन गरिसकेको छ । यसैगरी मिटरब्याज पीडितका नाममा जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने, जेल चलान भएकाको रिहाइ गर्नुपर्ने, मिटरब्याजसँग जोडिएका चेक बाउन्स मुद्दा खारेज गर्नुपर्ने र मिटरब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि पीडितहरुले राखेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १४:१२