१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

थानापति सेवा समाजद्वारा ज्येष्ठ नागरिकसहित असी जना सम्मानित


२६ चैत, काठमाडाैँ । थानापति सेवा समाजले ज्येष्ठ नागरिक, समाजसेवी र सेवानिवृत्त कर्मचारीलगायत गरी ८० जनालाई आज सम्मान गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ (तत्कालीन थानापति गाविस) मा जन्मेर हाल देश विदेशमा विभिन्न पेसा व्यावसायमा आबद्ध व्यक्तिको सहभागितामा विसं २०६६ मा स्थापित सो संस्थाका आजीवन सदस्य वा सदस्यका ७० वर्ष उमेरमाथिका मातापिता गरी ३३ ज्येष्ठ नागरिक, विभिन्न निकायबाट निवृत्त कर्मचारी ३९ र विशेष सम्मान आठ गरी ८० जनालाई सम्मान गरिएको हो । उहाँहरुलाई नेपाल सरकारका सचिव रामप्रसाद थपलिया, नेपाल सरकारका पूर्वसचिव तुलसीप्रसाद सिटौला, समाजका अध्यक्ष होमनाथ थपलियालगायतले सम्मान प्रदान गर्नुभयो ।

विशेष सम्मान प्राप्त गर्नेमा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, गाउँपालिकाका पूर्वअध्यक्ष एवं शिक्षासेवी रामकृष्ण थापा, सो गाउँपालिकाको वडा नं ८ का अध्यक्ष केशवप्रसाद रिजाल, सोही वडाका पूर्ववडाध्यक्ष पदमबहादुर थपलिया, युवा कृषि उद्यमी रामप्रसाद पुडासैनी, तत्कालीन थानापति गाविस अध्यक्ष तथा समाजसेवी बद्रीप्रसाद पाठक, काठमाडौँको टोखा नगरपालिका–११ का सदस्य महेश थपलिया, पत्रकार रविनप्रसाद थपलियालगायत हुनुहुन्छ ।

समाजका महासचिव पुरुषोत्तम थपलियाका अनुसार नववर्ष २०८० को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदानसहितको सो कार्यक्रममा क्यालेन्डर लोकार्पण र गीत तथा भजन गायनसमेत गराइएको थियो । कार्यक्रममा लोकगायक एवं मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्काले गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटन व्यावसायी अर्जुन पाण्डे, जनज्ञान क्याम्पसमा पूर्व प्रमुख महेशप्रसाद सिलवाल, गुडविल फाइनान्सका कम्पनी सचिव स्वयम्भु शाक्यलगायत सहभागी हुनुभएको थियो । शिवपुरी–८ मा रहेको थानापति दामचन्द्रमाला मन्दिरका नामबाट थानापति गाउँको नामकरण भएको हो । देशभरका थपलियाको महत्वपूर्ण तीर्थस्थल मानिने उक्त मन्दिरमा हरेक मङ्सिर धान्यपूर्णिमामा मेला लाग्ने गरेको छ ।

सो मन्दिरको पुनःनिर्मित भवनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत महिना आयोजित श्रीमद्भागवत पुराणको पूर्वाङ्गका अवसरमा उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ०९:५१