८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा पनि ठगी, ६ जना पक्राउ


२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीको मृत्युपछि पाउने बीमा रकममा समेत ठगी हुने गरेको तथ्य खुलेको छ । सरकारी कर्मचारीकै मिलेमतोमा मृतकको विमा रकममा ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो ।

विमा बापतको रकम लिन सहजिकरण गर्ने नाममा गठी गर्ने रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोलेलाई प्रहरीले जान सार्वजनिक गरेको हो । प्रहरीले सरकारी अधिकारीको बारेमा भने तत्काल कुनै जानकारी दिएको छैन् । अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रहरीले उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद गरेको छ । पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर मनोज कुमार केसीले, भने ‘हामीले यस पटक ठगिको अत्यन्तै निर्मम रुप देखेका छौ । वैदेशिक रोजगारीमा गएका मानिसको मृत्यु हुदाँ पाउने विमा रकममा समेत लाश माथि समेत गठी भएको तत्थ्य खुलेको छ ।’

उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको पाइएको एसएसपी केसीले जानकारी दिए । वैदेशिक रोगजारीबाट बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बिमा बापतको रकमसमेत दिलाइने भन्दै मृतकका आफन्तहरुलाई ठगी गरेको सुराकीको आधारमा यो गिरोहलाई पक्राउ गरिएको उनले बताए ।

हालसम्मको प्रारम्भिक अनुसन्धानमा विदेशमा मृत्यु भएका व्यक्तिका ३५ भन्दा बढी परिवारलाई यो समुहले ठगेको खुलेको छ। वैदेशिक रोजगारमा रहेका नागरिकले विदामा आएका बेला नेपालमै ज्यान गुमाएमा वैदेशिक रोजगार बोर्ड मार्फत विमा बापत पाउने १३ लाख रुपैयाँ मध्ये ८ लाखसम्म गठेको पाइएको छ । पक्राउ परेका सबैलाई ठगीसम्बन्धी कसुरमा आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १६:१७