६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

अबको बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाउँछः प्रधानमन्त्री प्रचण्ड


२२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, अब सरकारको ध्यान बजेट निर्माण केन्द्रित हुने बताएका छन् । काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले, चाँडै सरकारले पूर्णता पाउने र सरकार आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा गम्भीर भएर लाग्ने बताएका हुन् ।

उनले केही नयाँ, फरक र गुणात्मक काम गर्ने प्रतिबद्धता जनाएका छन् । अबको बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाउने उनले बताए । उनले भने ‘‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ। उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान होइन।’’

उनले यो पटकको बजेट निर्माणमा जनताले परम्परागत भन्दा भिन्न र नयाँ खाले परिवर्तनको राहत महसुस गर्ने गरी बजेट बनाउन आफू गम्भीर भएर लागेको दाबी गरे। उनले भने, ‘अहिले, नीति कार्यक्रम र बजेट बनाउँदा हामीले केही चिज नयाँ, फरक, गुणात्मक र जनताले प्रत्यक्ष राहत,परिवर्तन या नयाँ ढङ्गले चिज आयो भन्ने महसुस गराउन सकेनौ भने सम्पूर्ण परिवर्तन धरापमा पर्ने खतरा छ ।

त्यो बोध शान्ति प्रक्रिया देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा सबै प्रक्रियाको नेतृत्व गरेको नाताले मलाई जति बढी अरूलाई हुन सम्भव नै छैन । म गम्भीर छु ।’ त्यस्तै प्रधानमन्त्रीले कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काममा लागेको आरोप समेत लगाए ।

‘‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन्। कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’ उनले भने ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १२:४७