११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

तीनै क्षेत्रको उपनिर्वाचनमा सत्ता गठवन्धनलाई जिताउन पाँच दलको निर्देशन


२१ चैत, काठमाडौं । पाँच राजनीतिक दलले वैशाख १० गतेको उपनिर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन संयुक्त निर्देशन जारी गरेका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गर्न आह्वान गरेका हुन्।

‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था–संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धन दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ,’ मंगलबार जारी संयुक्त वक्तव्यमा भनिएको छ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको वक्तव्यमा ‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा, गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ,’ भनिएको छ।

सत्ता गठबन्धनले उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १९:४३