१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीविरूद्ध अख्तियारमा उजुरी, यस्ता छन ८ वेथिति


२० चैत, काठमाडाैँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले गरेका विभिन्न अनिमियतता र बेतितिका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नियुक्तिको भोलिपल्टदेखि नै नेपाली भाषा र साहित्यका विरूद्धमा आक्रमक देखिएका पादधिकारी पदीय दुरूपयोगमा लिप्त भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

दैनिकीलाई प्राप्त उजुरीको व्यहोरामा ८ ओटा बेतिथिहरूमाथि कारबाही गर्न माग गरिएको छ । यस्ता छन उजुरीमा उल्लेख गरिएका व्यहोरा ।

बेथिति नं. १

कार्यालयको सम्पूर्ण खर्चमा कुलपति भूपाल राई र प्राज्ञ राजन मुकारुङ व्यक्तिगत निमन्त्रणमा प्रज्ञा–प्रतिष्ठानका एक जना अधिकृत कर्मचारी र ड्राइभरसहित गाडी लिई भोजपुरको एक कार्यक्रममा गएका थिए । यो बेथिति र अख्तियारको चरम दुरुपयोग हो । प्रज्ञा प्रतिष्ठानको कुनै कार्यक्रमबिना भ्रमण भत्ताका नाममा पैसा असुल्ने र कर्मचारी समेतलाई खुवाउनु प्रज्ञाको आर्थिक दोहन गर्नु हो । यसै गरी प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रमबाहेक अन्य कार्यक्रममा जाँदा सम्बद्ध आयोजकले नै खर्च बेहोर्ने गरी भ्रमणमा जानुपर्नेमा उपकुलपति विमलकृष्ण श्रेष्ठलगायत प्राज्ञहरू नियुक्त भएलगत्तै नेपालगन्ज, चितवन, पोखरा, खैरेनी जस्ता ठाउँहरुमा भ्रमण गरी प्रज्ञा–प्रतिष्ठानबाट यातायात र भ्रमण भत्ता लिने गरेका छन् । यी सबै काम कुरा अख्तियारको दुरुपयोग हो ।

बेथिति नं. २

पहिलेको प्राज्ञ परिषद्ले प्रकाशनका निम्ति निर्णय गरी प्रकाशन गर्ने प्रक्रियामा रहेका पुस्तक तथा पत्रिकाहरू छाप्न रोक्ने कार्य । यसबाट अनुसन्धान गराउँदा लागेको लागत रकम, प्रकाशनका निम्ति तयार गर्नका निम्ति लागत रकम (जस्तै प्लेट निर्माण, कागज खरिद, कम्प्युटर सेटिङ खर्च, भाषा सम्पादन खर्च, लेखकस्व रकम खर्च आदि) पूरै खेर जाने स्थिति छ । यसबाट प्रज्ञा–प्रतिस्ठानलाई ठुलै रकम घाटा पर्ने देखिन्छ । यो अविच्छिन्न उत्तराधिकारवाला संस्थाका रुपमा रहनुपर्नेमा नयाँ जस्तो गरी यसरी पुराना कामका दायित्व लिन नखोज्नु सरासर अख्तियारको दुरुपयोग हो ।

बेथिति नंं. ३

वर्षको दुई पटक मात्र बस्नुपर्ने प्राज्ञ सभाको बैठक वैशाख ४ गते बोलाइएको छ । यो भत्ता खाने उद्देश्यले मात्रै गनृ लागिएको हो । यो अर्को बेथिति हो । यसै आ.व.मा साउन र मङ्सिरमा भइसकेको प्राज्ञ सभाको बैठक पुनर्ः गर्दा थप व्ययभार पर्ने देखिन्छ । साथै प्रतिष्ठानको खातामा सम्बद्ध शीर्षकमा कुनै रकम नभएकोमा रकमान्तर गरेर उक्त सभा राख्न खोज्नु आर्थिक दोहन नै हो ।

बेथिति नं. ४

प्रज्ञा–प्रतिष्ठानको प्राज्ञको कार्यकक्षमा रहेका सोफा, पर्दा, कार्पेट सबै नयाँ वा सफा नै रहेका सन्दर्भमा नयाँ नियुक्त भएर आउने बित्तिकै कार्पेट फेर्ने नाममा लाखाँै रकम अनावश्यक खर्च गरेको देखिएको छ । सरकारले फजुल खर्च गर्न रोक गरेका बेला अनावश्यक शृङ्गार र सजावटका सामान खरिद गरी राज्यको दोहन गर्ने काम अहिलेको परिषद्बाट भएको छ ।

बेथिति नं. ५

अघिल्लो प्राज्ञ परिषद्ले भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग गठन गरी सञ्चालनमा ल्याएकोमा वर्तमान प्राज्ञ परिषद्को पहिलो बैठकले नै नेपाली भाषालाई हटाउने निर्णय गरेको छ । यसै गरी अन्य अमिल्दा विभागहरूसमेत गठन गरिएको छ । यो सरासर अख्तियारको दुरुपयोग हो ।

बेथिति नंं. ६

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति राई, प्राज्ञ सदस्य मुकारुङले चुरोट खानका निम्ति प्रतिष्ठानको माथिल्लो तला प्रयोग गर्ने गरेका छन् । सार्वजनिक कार्यालयमा चुरोट र मदिरा खान नपाइने नीति भए पनि उनीहरू खुलमखुला कहिले क्यान्टिन त कहिले कार्यालयभन्दा माथि छतमा गई चुरोट खाने गरेका छन् ।

बेथिति नं. ७

यसै गरी प्राज्ञ सदस्य मुकारुङ कार्यालय समयपश्चात् पनि कार्यालयमा बसी कार्यालयको दुरुपयोग गरिरहेका छन् । निश्चित कामबिना एक्लै कार्यालयमा बस्नु अख्तियारको दुरुपयोग । उनी बसुन्जुेल सहयोगी कर्मचारी बस्नुपर्ने हुन्छ ? यसो गर्दा कार्यालय सहयोगीलाई अतिरिक्त पारिश्रमिक दिनु पर्दा प्रतिष्ठानलाई आर्थिक व्यवभार परिरहेको छ ।

बेथिति नं. ८

यसरी माथि प्रस्तुत विवरण बाहेक पनि नेपाल प्रज्ञा–प्रतिष्ठानमा थुप्रै बेथितिहरू भइरहेको पाइन्छ । प्रज्ञा परिषद्ले माओवादी निकट कर्मचारी संगठनलाई कार्यालय सञ्चालनका निम्ति भन्दै वर्षको १० लाख दिने निर्णय गरेको छ । यो सरासर अख्तियारको दुरुपयोग हो । यसरी अख्तियारको दुरूपयोग गरी बेतिथि निम्त्याउने प्राज्ञ परिषद्का पदाधिकारीहरूलाई कानुनबमोजिम कारबाही गर्न उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार २०:३७