१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा


२० चैत, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण रु ५८ लाख ४८ हजार छ सय २४ तथा आयोजना अनुदान रु ९७ लाख ३६ हजार एक सय ७८ रहेको जानकारी दिए। दाना उद्योगमा पेलेट दाना र मास दाना गरी दुई किसिमको दाना उत्पादन हुँदै आएको उनको भनाइ छ ।

मास दाना (धुलो दाना) बनाउनका लागि १३/१४ प्रकारका कच्चापदार्थसँगै प्रोटिनको प्रयोग गरिने अध्यक्ष श्रेष्ठले बताए । मास दानालाई मेसिनले धुलो बनाउने हुँदा पशुलाई खान र पचाउन सजिलो हुने उनले बताए । उद्योगबाट उत्पादित पेलेट दाना (गोटीवाला दाना) स्टिम गरेर बनाइने भन्दै उनले मास दाना बनिसकेपछि सोही दानालाई स्टिम गरेर गोटीको आकार दिइने श्रेष्ठले बताए । पेलेट दाना पहिला नै स्टिम गरिएको हुनाले पशुलाई यो दाना पचाउन झनै सजिलो हुने उनको भनाइ छ ।

उद्योगमा उत्पादन हुने दानामा मकै, धानको ढुटो, चोक्कर, डिओसी, मुलासेस, भटमास, तोरीको पिनासहितका कच्चा पदार्थ तथा प्रोटिनका लागि लाइभस्टोन भन्ने चुनढुङ्गा प्रयोग गरिने उहाँको भनाइ छ । सकेसम्म नेपालमै उत्पादन भएका कच्चा पदार्थलाई दाना बनाउन प्रयोग गरिने उनको भनाइ छ । गैँडाकोटमा दाना उद्योग सञ्चालनमा आएपछि पशुपालन गर्ने कृषकलाई सहज भएको अध्यक्ष श्रेष्ठले बताए ।

जनतालाई फाइदा हुने गरी गुणस्तरीय उत्पादनमा ध्यान पुर्याइएको उनको भनाइ छ । मुकुन्दपुर क्षेत्रको दूध व्यवस्थित गर्दै कृषकलाई आर्थिकरूपमा सबल बनाउने कार्यमा सहकारी लागिरहेको छ । दाना उद्योग सञ्चालनमा आएपछि गैँडाकोटको मुकुन्दपुर, अमरापुरी र रजहर क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

दाना उद्योगमा उत्पादन भएको दानाले मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका सदस्यसँगै अन्य पशुपालक कृषकले सहजै किन्न पाएपछि खुसी व्यक्त गरेका छन् । गैँडाकोट–११ का उमाकान्त पौडेलले अमृत गाई फर्म सञ्चालन गर्दै आएका छन् । मुकुन्दसेन दाना उद्योग सञ्चालन भएपछि दाना चोक्करका लागि सधैँ टाढा धाइराख्नुपर्ने समस्या हटेको उनले बताए ।

संस्थाको मातहातमा एक सय ५० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन् । छ सय ५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक १५ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । विसं २०५३ मा स्थापित संस्थामा हाल आठ सय ९० जना शेयर सदस्य छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १२:२५