१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राज्यको नीति नमाने सेन्टजेभियर्स स्कुल बन्द गरे हुन्छ


आदरणीय चिरी दाइ,

१) जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलमा भर्ना प्रक्रिया स्थगित भएको समाचार सार्वजनिक भएपछि धेरैको निद्रा बिथोलिएको छ । सञ्चार माध्यममा चार हजार विद्यार्थीको भविष्य अनिश्चित भन्ने खालका समाचार पनि आएका छन् । ललितपुर महानगरपालिकाले जुन अडान कायम गरेको छ, त्यो प्रशंसनीय छ । आफ्नो अडानबाट पछाडि नहट्न अनुरोध छ ।

२) राज्यबाट अनुमति लिइएपछि राज्यको नियमन निकायको नीति, नियम सबैले मान्नुपर्छ । नमान्ने हो भने स्कुल बन्द गर्दा हुन्छ । प्रवेश परीक्षाका विरुद्धमा कलम चलाउँदा चलाउँदा गोलाप्रथासम्म ल्याइएको छ । गोलाप्रथा पूर्वअभिभावकको अन्तर्वार्ता लिने र छानिएकामात्र गोलाप्रथामा समेट्ने गलत कार्य गरिँदैछ । जति विद्यार्थीले आवेदन दिएका छन् ती सबैलाई गोलाप्रथामा समेट्नुपर्छ । आफूले चाहेका विद्यार्थीलाई मात्र ल्याउन अभिभावकको अन्तर्वार्ता लिने नाटकीय प्रपञ्च रचिएको पुस महिनाको आकास जस्तै छर्लङ्ग छ । अभिभावकले नाम निकाल्ने हो वा विद्यार्थीले ? पक्कै पनि विद्यार्थीले । तर अभिभावकको किन अन्तर्वार्ता ? यो गलत कार्य हटाउने आँट गर्नुहोला । शुभकामना ।

३) मुलुकमा जति पनि राम्रा विद्यालय छन् । सेन्टजेभियर्स स्कुल अब्बल भन्ने ह्याङ ओभर वा भ्रम त्याग्न सक्नुपर्छ । त्यहाँ अध्ययन गरेका सबै विद्यार्थी अब्बल छन् ? त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीले अलग ट्युसन पढ्नु नपर्ने अवस्था छ ? त्यहाँ अध्ययन गरेका सबै डाक्टर, इन्जिनियर, सीए जस्ता पेसामा आवद्ध छन् ? अरु विद्यालयमा अध्ययन गरेकाहरु नालायक हुन् ? अभिभावकको सोचाइ गलत हो । भ्रमबाट मुक्त हुँदा राम्रो । त्यहाँ भर्ना नपाउँदा चार हजार विद्यार्थीको भविष्य अन्योल भन्ने समाचार अतिरन्जित हो । सेन्टजेभियर्स स्कुलका पक्षमा सनसनी बनाउन खोजिएको हो । खुरुक्क अरु विद्यालयमा भर्ना गर्दा हुन्छ ।

४) सेन्टजेभियर्स स्कुल आफ्नै अडानमा रहन्छ भने ललितपुर महानगरपालिका पनि सुधारको अभियानमा अडानमा रहनै पर्छ । अडान छाड्नु भयो भने त्यसले शङ्का पैदा गर्नेछ । यसो हुँदा २०८० सालमा कक्षा १ मा पठनपाठन भएन भने केही फरक पर्नेवाला छैन । आकाश खस्नेवाला पनि छैन । शिक्षा प्रणाली नै बिथोलिने पनि होइन । बरु त्यहाँ नजिक रहेका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान थालौँ । त्यहाँ नजिक रहेका त्रिपद्म, मदनस्मारक लगायतका सामुदायिक विद्यालयलाई नमुना बनाउन नसकिने होइन । त्यो अभियान थालौँ । सामुदायिक विद्यालयमा भर्ना गराउने अभिभावकलाई महानगरपालिकाबाट करमा छुट र सेवा सुविधा थप गर्ने काम गरौँ ।

तसर्थ जे गर्नुभएको छ ठिक छ । म तपाईँको अडानप्रति समर्थन जनाउँदछु । सरकारी लगायतका उच्च पदाधिकारीका छोराछोरी त्यो स्कुलमा अध्ययनरत छन् । ठूला ठाउँबाट दबाब आउनसक्छ । त्यो दबाबलाई झेल्न सक्नु भयो भने भर्नाबाट बञ्चित गर्न खोजिएका सयौँ अभिभावक तथा विद्यार्थी खुसी हुनेछन् । कसैलाई कुनै कोटा छुट्टयाउनुपर्दैन । सबै विद्यार्थी समान हुन् । समान व्यवहार गरौँ । अभिभावकको अन्तर्वार्ता लिने जस्तो निकृष्ट प्रवृत्ति अन्त्य गरौँ ।

चिरी दाइ, तपाईँको अभियान सफल रहोस् । दुई चार थान सञ्चार माध्यममा तपाईँका विरुद्धमा समाचार आउँदैमा आत्तिनुपर्दैन । विद्यार्थीको भविष्य तपाईँको केन्द्रमा रहनुपर्छ । धन्यबाद

(शिक्षा पत्रकार सञ्चाल नेपालका पूर्व अध्यक्ष प्रकृति अधिकारीले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका लागि लेखेको पत्र हामीले यहाँ प्रस्तुत गरेका हाैँ ।-प्रधानसम्पादक)

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १३:१३