८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेबिसंघको पक्षमा मतदान नभएको स्ववियु निर्वाचन बदर गर्न कांग्रेसको माग


१८ चैत, काठमाडाैँ । नेपाली कांग्रेसले नेबिसंघको पक्षमा मतदान नभएको स्ववियु निर्वाचन बदर गर्न माग गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति निकालेर रामपुर कृषि क्याम्पसमा नेबिसंघको पक्षमा मतदान नभएकोले निर्वाचन बदर गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७९ चैत्र १७ गतेका दिन रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कांग्रेसले स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी रहेको बताउँदै नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त अवैधानिक कार्यको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहुन भएका आशिष देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ । उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।’

कांग्रेसले उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १२:३१