१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

राष्ट्रियसभा बैठकमा सांसदहरूकाे प्रश्नः मिटरब्याजीलाई कारबाही कहिले गर्ने ?


१६ चैत, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिए । उनले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गरे ।

सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरे । सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह गरिन् ।

उनले मिटरब्याजीका कारण गरिब, निमुखा नागरिकको घरखेत गएको र जीवनयापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको तथ्य पेस गरिन् । उनले किसानलाई उत्पादन बढाउनका लागि मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग दोहोर्याइन् ।

सांसद शारदादेवी भट्टले मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्दातिर्दा कहिले नसकिने यो कस्तो अन्याय हो भन्ने प्रश्न गर्दै पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गरिन् । यो धनुषाको मात्रै समस्या नभई देशभरको समस्या भएको उल्लेख गर्दै उनले आफ्नो गुनासो र दुःख सुनाउन आएका पीडितलाई खुलामञ्चमासमेत बस्न नदिइएकामा आपत्ति जनाइन् । सांसद प्रमिला कुमारीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १३:३३