४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

बैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु


१५ चैत, काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकका लागि सरकारले आज(बुधवार)बाट स्वास्थ्य परामर्श सुरु गर्ने भएको छ । सेवा आज बिहान १० बजेबाट सुरु हुनेछ । सेवा पूर्णरुपमा निशुल्क हुनेछ ।

बैदेशिक रोजगार बोर्डका अनुसार सार्वजनिक विदाका दिन बाहेक सबै दिनमा सेवा सञ्चालन हुनेछन् । सेवा लिन चाहने श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइवर, ह्वाट्स एम वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् । सेवा बीर अस्पतालबाट दिइनेछ । जसका लागि बोर्डले छुट्टै ‘डेडिकेटेड टिम’ बनाएको छ ।

टिममा मेडिकल अधिकृतसहित स्टाफ नर्सका टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहको स्वास्थ्य समस्या बुझ्नेछ । र, समस्या अनुसार चिकित्सक सिफारिस गर्नेछन् । बोर्डका प्रवक्ता राजन पौडेलले बैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु भएको बताए । उनले भने,‘बैदिशक रोजगारमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु गरिएको छ ।

कार्यालय समयमा सेवाग्राहीले भाइवर, ह्वाट्स एम वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् । यसका लागि हामीले सम्पर्क नम्वर पनि सार्वजनिक गरेका छौं । सेवा बीर अस्पतालबाट प्रवाह हुनेछ ।’ बोर्डका अनुसार प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका १२ हजार ५ सय श्रमिकको बिभिन्न स्वास्थ्य समस्याका कारण मृत्यू हुने गरेको छ ।

जसमध्ये ७५ प्रतिशत श्रमिकको मृत्यू नसर्ने रोगका कारण भएको छ । सोही समस्या समाधान गर्ने उद्येश्यले स्वास्थ्य परामर्श सेवा सुरु गरिएको बोर्डका प्रवक्ता पौडेलले बताए । उनले भने,‘प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका मध्ये १५ हजार ५ सय श्रमिकले ज्यान गुमाउने गर्छन् । जसमध्ये ७५ प्रतिशत श्रमिकको मत्यू नसर्ने रोगका कारण हुने गरेको देखिन्छ । यसलाई न्यूनिकरण गर्न बोर्डले स्वास्थ्य परामर्श सेवा सुरु गर्न लागेको हो । यो सेवा अब निरन्तर सञ्चालनमा आउनेछ ।’

बोर्डका अनुसार श्रमिमको कल बीर अस्पतालस्थित मेडिकल अधिकृतले उठाउने छन् । उनले श्रमिकको स्वास्थ्य समस्या बुझ्नेछन् । थप सेवा लिनु पर्ने अवस्था आएमा उनले स्वास्थ्य बिशेषज्ञ सिफारिस गर्नेछन् । सेवा केन्द्रमा आइतवार र शुक्रवार विशेषज्ञ टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिनेछन् । र, उनीहरुले आवश्यक औषधिको सिफारिस पनि गरिदिन सक्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । सोही कार्याविधि अनुसार बोर्डले सेवा सुरु गर्न लागेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:४४